इङ्लिस प्रिमियर लिग

एभर्टनको प्रिमियर लिग हैसियत जोगियो,लेस्टर र लिड्स रेलिगेशनमा

लन्डन । अब्लुलाय डौकारको निर्णायक गोलमा एभर्टनले आइतबार बर्नामाउथमाथि १-० को जितसहित इङ्लिस प्रिमियर लिगको रेलिगेशन संकट टारेको छ । 

५७औं मिनेटमा उनले गरेको गोल एभर्टनलाई ७० वर्षदेखीको प्रिमियर लिगको हैसियत कायम राख्न पर्याप्त बन्यो । 

१७औं स्थानको एभर्टनको ३८ खेलमा ३६ अंक रह्यो । एभर्टनले प्रिमियर लिगको हैसियत जोगाउँदा २०१६ को विजेता लेस्टर सिटी र लिड्स युनाइटेड भने रेलिगेशनमा परेका छन । 

प्रिमियर लिगको विजेता तीन खेल अगावै लागिसकेको थियो । शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने टोली पनि पक्का भैसकेका थिए भने २०औं स्थानको साउथहमटन पनि यसअघि नै रेलिगेशनमा परिसकेको थियो । त्यसैले सिजनको अन्तिम दिन एभर्टन, लेस्टर र लिड्सबीच प्रिमियर लिगको हैसियत कायम राख्ने चुनौती थियो । जसमा एभर्टन सफल भयो । 

१८औं स्थानको लेस्टरको ३८ खेलमा ३४ र लिड्सको समान खेलमा ३१ अंक रह्यो । लेस्टरले वेस्ट हममाथि २-१ को जित निकाले पनि प्रिमियर लिगको हैसियत कायम राख्न सकेन । लिड्स भने टोटनहमसँग ४-१ ले पराजित भयो । 

आइतबार सम्पन्न खेलमा लिग विजेता म्यानचेस्टर सिटी भने ब्रेनफोर्डसँग १-० ले पराजित भयो । त्यसतै आर्सनलले उल्भरहमटनलाई ५-०,म्यानचेस्टर युनाइटेडले फुलहमलाई २-१ र एस्टन भिल्लाले ब्राइटनलाई २-१ ले हराउँदा न्युक्यासल युनाइटेड र चेल्सीले १-१,लिभरपुल र साउथहमटनले ४-४,तथा क्रिस्टल प्यालेस र नटिङघम फरेस्टले १-१ को बराबरी खेले ।