इटालियन सिरी ए

मिलान च्याम्पियन्स लिगका लागि छनोट

मिलान । युभेन्टसमाथि १-० को जितसहित एसी मिलानले इटालियन सिरी ए को शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगको टिकट पक्का गरेको छ । 

४०औं मिनेटमा ओलिभर जिरौउडले गरेको गोल मिलानको जितका लागि पर्याप्त बन्यो ।

मिलान ३७ खेलमा ६७ अंकसहित चौथो स्थानमा छ । जुन पाँचौ स्थानको एट्लान्टाको भन्दा ६ अंक बढी हो । एट्लान्टा शनिबार इन्टर मिलानसँग पराजित भएको थियो । शीर्ष स्थानको नेपोली,दोस्रो स्थानको लाजियो र तेस्रो स्थानको इन्टरले यसअघि नै च्याम्पियन्स लिगमा स्थान बनाइसकेका छन । 

सातौं स्थानको युभेन्टसको ३७ खेलमा ५९ अंक रह्यो । युभेन्टस सोमबार इम्पोलीसँग ४-१ ले निराश भएको थियो । गत सातासम्म दोस्रो स्थानमा बसेको युभेन्टसलाई आर्थिक अनियमितता गरेको भन्दै सिरी ए ले १० अंक घटुवा गराइदिएको थियो । यससँगै युभेन्टस सातौं स्थानमा झरेको थियो । 

१० अंक घट्नु र पछिल्लो दुई खेलको हारले आगमी सिजन युरोपियन प्रतियोगिता खेल्ने युभेन्टसको लक्ष्य पूरा हुने सम्भावना न्युन बनेको छ ।