स्पेनिस ला लिगा

भ्यालेन्सियामाथिको करबाही घट्यो

काठमाडौं । स्पेनिस ला लिगा क्लब भ्यालेन्सियामाथिको कारबाही घटेको छ ।

भ्यालेन्सियाविरुद्धको खेलका क्रममा रियाल मड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि रंगभेदी दुर्व्यवहार भएपछि ला लिगाले कारबाही गरेको थियो ।  भ्यालेन्सियाको अपिलपछि कारबाहीमा कटौती भएको हो ।

यसअघि ला लिगाले भ्यालेन्सियालाई ४५ हजार युरो जरिवाना लगाएको थियो । अपिलपछि क्लबले २७ हजार युरो मात्र जरिवाना तिर्नु पर्नेछ ।

यस्तै भ्यालेन्सियाले तीन खेलमा स्टेडियम आंशिक रुपमा बन्द गर्नु पर्नेछ । यसअघि पाँच खेलमा स्टेडियम आंशिक रुपमा बन्द गर्नुपर्ने निर्देशन दिइएको थियो ।

स्पेनिस  प्रहरीले ब्राजिलियन फरवार्डलाई दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिसकेको छ।

भ्यालेन्सियाले रियललाई १-० ले हराएको खेलमा भ्यासलेन्सियाका समर्थकले जुनियरविरुद्ध रंगभेदी नारा लगाएका थिए ।