सहिद स्मारक ‘ए’ डिभिजन लिग

संकटाले छाड्यो रेलिगेसन क्षेत्र

काठमाडौं । युसेफ एट्रिसले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनबाट बच्न संघर्षरत संकटाले लिग लिडर चर्च ब्वाइज युनाइटेडलाई १-० ले पराजित गरेको छ ।

जितसँगै २२ खेलमा २६ अंक जोडेको सकंटा रेलिगेसन क्षेत्रबाट बाहिर निस्कदै ११औं स्थानमा उक्लिएको छ । हारका बाबजुत २२ खेलमा ३८ अंकका साथ चर्च ब्वाइज शीर्ष स्थानमा कायम छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलको ६९औं मिनेटमा एट्रिसले गोल गरेका थिए । एट्रिसले जुनियरको पासलाई सदुपयोग गरेका हुन् ।

खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न भने सकेनन् ।

१४औं मिनेटमा चर्च ब्वाइजका अन्जन विष्टको हेडर बार नजिकैबाट बाहिरियो । ३३औं मिनेटमा मनिष डाँगीको हेडरमा चर्च ब्वाइजका गोलकिपर प्रिसो विट भइसकेको अवस्थामा जुनियरले बल भेट्टाउन नसक्दा संकटाले अग्रता लिने सुनौलो अवसर गुमायो ।

४९ औं मिनेटमा आशिष चौधरीको प्रहारलाई संकटाका गोलकिपर टिकेन्द्र थापाले बचाएृ ।

संकटा लिगमा चर्च ब्वाइजविरुद्ध अपराजित रह्यो । यी दुई बीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।