सहिद स्मारक ‘ए’डिभिजन लिग

चर्च ब्वाइजलाई अंक दुरी बढाउने अवसर

काठमाडौं । लिग लिडर चर्च ब्वाइज युनाइटेडलाई सहिद स्मारक ‘ए’डिभिजन लिगमा शनिबार संकटाको सामना गर्दा शीर्ष स्थानमा अंक दुरी बढाउने अवसर हुनेछ ।

चर्च ब्वाइज र संकटाबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । लिगमा चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ । यो दोस्रो स्थानको मछिन्द्रको भन्दा तीन अंक बढी हो ।

पछिल्ला दुई खेलमा बारबरीमा रोकिएको चर्च ब्वाइज संकटालाई हराउँदै जित लयमा फर्किने सोचमा छ । चर्च ब्वाइजलले हिमालयन शेर्पासँग १–१ तथा मनाङ मर्स्रयाङदीसँग गोलरिहित बराबरी खेलेको थियो ।

२१ खेलमा २३ अंकका साथ १३औं स्थानमा रहेको संकटा पनि चर्च ब्वाइजलाई स्तब्ध बनाउँदै रेलिगेसन क्षेत्र छाड्ने लक्ष्यमा हुनेछ । संकटाले पछिल्ला पाँच खेलमा दुई हार र तीन बराबरीको नितजा निकालेको छ ।

चर्च ब्वाइज र संकटाबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।

यसैगरी दिउँसो ३ बजे च्यासल मैदानमा  विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्दा साबिक विजेता मछिन्द्रलाई शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्ने अवसर हुनेछ । 

पछिल्लो खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

२१ खेलमा २९ अंकका साथ चौथो स्थानमा रहेको आर्मी पनि मछिन्द्रलाई स्तब्ध बनाउनले लक्ष्यमा छ । पछिल्लो खेलमा आर्मी न्युरोड टिम (एनआरटी) सँग १-० ले पराजित भएको थियो ।

मछिन्द्रविरुद्ध पहिलो भेटमा आर्मी २-० ले विजयी भएको थियो ।

दिउँसो २ बजे दशरथ रंगशालामा जावलाखेल युथ क्लब र विभागीय टोली नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् ।

२१ खेलमा ३४ अंकका साथ तेस्रो स्थानमा रहेको जावलाखेल एपिएफलाई स्तब्ध बनाउँदै दोस्रो स्थानमा उक्लिने प्रयासमा हुनेछ । जावलाखेलले पछिल्ला पाँच खेलमा एक र चार बराबरीको नतिजा निकालेको छ ।

२१ खेलमा २८ अंकका साथ सातौं स्थानमा रहेको एपिएफ पनि जावलाखेललाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ ।

जावलाखेल र एपिएफबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।