सहिद स्मारक ए डिभिजन लिग

जितको दबाबमा मच्छिन्द्र र जावलाखेल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडलाई पछ्याइरहेका साबिकको विजेता मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब आज आमने सामने हुँदैछन । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो खेलमा जित निकालेमा मच्छिन्द्रले शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्नेछ । चर्च ब्वाइज २० खेलमा ३७ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको मच्छिन्द्रको समान खेलमा ३४ र तेस्रो स्थानको जावलाखेलको समान खेलमा ३३ अंक रहेको छ ।

पछिल्लो केही खेलहरुमा लगातार अंक बाँडेसँगै शीर्ष स्थान गुमाएको जावलाखेल जितसहित शीर्ष स्थानको चर्च ब्वाइजसँगको दुरी एक अंकमा झार्न चाहन्छ ।

आजै दशरथ रंगशालामा हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्दैैछ । पाँचौं स्थानको आर्मीको २० खेलमा २९ अंक छ भने समान खेलमा ११औं स्थानको एनआरटीको २३ अंक छ । 

च्यासल फुटबल मैदानमा हुने खेलमा एपिएफ र संकटा क्लब आमने सामने हुँदैछन । १०औं स्थानको एपिएफको २० खेलमा २३ अंक छ भने १२ औं स्थानको संकटाको पनि समान खेलमा समान २३ अंक रहेको छ ।