सहिद स्मारक ‘बी’ डिभिजन लिग

एन्फाले ‘बी’ डिभिजन लिग क्लबलाई छलफलमा बोलायो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लबलाई छलफलका लागि बोलाएको छ ।

 स्रोतका अनुसार एन्फाले मंगलबार क्लबहरुलाई छलफलमा बोलाएको हो । छलफल मुख्यतया लिगको नयाँ मिति तय गर्ने विषयमा क्रेन्द्रित हुनेछ ।

क्लबहरुले एन्फाले लिग समयमै गर्न नससकेका कारण आफूहरुलाई ठुलो आर्थिक भार परेको भन्दै क्षतिपूर्तीको माग गरिरहेको छन् । एन्फा भने आर्थिक अभावका कारण देखाउँदै क्लबहरुलाई पछि रकम उपलब्ध गराउने बताइरहेको छ ।

क्लबहरुले क्षतिपूर्ती नपाउँदासम्म लिगको तयारी गर्न नसकिने अडान राखेपछि बैशाख ६ गतेको पछिल्लो छलफल विना निश्कर्ष टुङ्गिएको थियो ।

दोस्रो पटक पनि तोकिएको मितिमा सहिद स्मारक ‘बी’ डिभिजन लिग गर्न नसकेपछि चौतर्फी आलोचना खेपिरहेको एन्फाले ‘बी’ क्लबका पदाधिकारीलाई छलफलका लागि बोलाएको हो ।

सुरुमा चैत १५ बाट दोस्रो डिभिजनको लिग गर्ने घोषणा गरेको एन्फाले गत फागुन १७ गते बसेको विवादास्पद बैठकबाट एकपक्षीय रुपमा चैत २९ बाट सुरु गर्ने गरि अर्को निर्णय गरेको थियो ।

सम्बन्धित सबै १४ क्लब लिगका लागि तयार भए पनि एन्फाले दोस्रो पटक तोकेको मितिमा प्रतियोगिता आयोजना गर्न सकेन। एन्फाले ‘बी’ डिभिजन लिगकाे नयाँ मिति पनि घोषणा गर्न पनि सकिरहेको छैन ।

जसलाई ‘बी’ डिभिजनका क्लबहरुले एन्फाको गैह्र जिम्मेवारीपनाको रुपमा लिएका छन् । राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग आयोजनाको विषयलाई यति हचुवा रुपमा लिएर एन्फाले फुटबलप्रति आफू कत्ति पनि जिम्मेवार नरहेको प्रमाण दिएको क्लबहरुले आरोप लगाइरहेका छन् ।