त्रिभुवन आर्मी क्लबको यु-१३ युथ एकेडेमी संचालनमा 


काठमाडौं, (खेलाडी)-  त्रिभुवन आर्मी क्लबको यु–१३ युथ एकेडेमी मंगलबारबाट संचालनमा आएको छ ।

युथ एकेडेमीको मंगलबार सैनिक मुख्यालयमा आयोजित एक सामारोहबीच प्रधानसेनापती प्रभुराम शर्मा, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले उद्घाटन गरे ।

युथ एकेडेमी संचालनका लागि २०७७ माघ १८ गते आर्मी क्लब, एन्फा र सैनिक आवासिय महाविद्यालयबीच सम्झौता भएको थियो ।

एएफसीले क्लब लाइसेन्सका लागि युथ एकेडमी पनि अनिवार्य गरेपछि आर्मीसहित ए डिभजनका अन्य नौ क्लबले युथ एकेडेमी संचालनका लागि विभिन्न विद्यालयसँग सम्झौता गरेका थिए । युथ एकेडेमीको विधिवत सुरुआत गर्ने आर्मी पहिलो क्लब बनेको छ । 

एन्फाले युथ एकेडेमीका लागि गोलाप्रथाबाट ४२ खेलाडीलाई आर्मीसहित, एपिएफ र नेपाल पुलिस क्लबमा समान १४ खेलाडी उपलब्ध गराएको थियो ।

आर्मीले एन्फाले उपब्ध गराएको १४ खेलाडीमा ११ खेलाडी थप गर्दै आजबाट एकेडेमी संचालनमा ल्याएको हो ।

कार्यक्रममा बोल्दै सेनापति शर्माले युथ एकेडेमी संचालन नेपाली फुटबल विकासका लागि फलदायी हुने विश्वास व्यत्त गरे ।

एन्फा अध्यक्ष शेर्पाले आर्मीले युथ एकेडेमी संचालनमा ल्याएको धन्यबाद दिदै आगामी दिनमा महिला युथ टोली निर्माणमा पनि आर्मी क्लबले ठोस कदम चाल्ने विश्वास व्यत्त गरे ।

सोही दौरान राष्ट्रिय टोलीका स्टइकर भरत खवास र जर्ज प्रिन्स कार्कीको कप्तानीमा रहेको टोलबीच प्रदर्शनी खेल खेलाइएको थियो । जहा भरतको टोली १–० ले जितेको थियो ।

कार्यक्रममा युवा खेलाडीहरुलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।