आइडब्लुएल

सेथुलाई हराउँदै किकस्टार्ट फाइनलमा

फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर सुरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसी इन्डियन वुमन्स लिगमा (आइडब्लुएल) को फाइनलमा प्रवेश गरेको छ ।

किकस्टार्टले शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा सम्मिलित सेथु एफसीलाई २-० ले पराजित गरेको हो ।

किकस्टार्टलाई जित दिलाउन सरु र किओको एलिजाबेथ कटुङ्गवाले समान एक गोल गरे ।

खेलको ११औं मिनेटमा कटुङ्गवा गोलमार्फत किकस्टार्टले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सरुले टोलीको अग्रता दोब्बार बनाइन् ।

दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल निस्कन सकेन ।

किकस्टार्टले होप्स एफसीलाई २-१ तथा सेथुले  इस्ट बंगाल एफसीलाई ९-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएक थिए ।

किकस्टार्टले उपाधिका लागि साबिक विजेता गोकुलम केरला एफसी र एस्टर्न स्पोर्टिङ्ग एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

गोकुलममा नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारी आबद्ध छिन् । 

सरुले पूरै समय खेल्दा रेनुका ७२औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् ।