सहिद स्मारक‘ए’ डिभिजन लिग

चर्च ब्वाइजको जितमा मिलनको निर्णायक गोल

काठमाडौं । मिलन राईको गोल निर्णायक बन्दा लिग लिडर चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्ललमाथि १-० को कठिन जित निकालेको छ ।

जितसँगै चर्च ब्वाइजले १९ खेलमा १० जित, ६ बराबरी र तीन हारको नतिजासहित ३६ अंक जोडेको छ । यो दोस्रो स्थानको जावलाखेल युथ क्लबको भन्दा चार अंक बढी हो ।  

पराजय ब्यहोरेको पुलिस १९ खेलमा ६ जित, चार बराबरी र नौ हारको नतिजासहित २२ अंकका साथ १२औं स्थानमा यथावत छ ।

मिलनले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलको पहिलो हाफ इन्जुरी समयमा गोल गरेका थिए । मिलानले कमल श्रेष्ठको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

८६ औं मिनेटमा आशिष चौधरीको प्रहार बारमा लाग्दै बाहिरँदा चर्च ब्वाइजले अग्रता दोब्बर बनाउने अवसर गुमायो । 

 चर्च ब्वाइजले पुलिसविरुद्ध लिड डबल(दुवै लेगमा पराजित)गरेको छ । पहिलो लेगमा चर्च ब्वाइज २-१ ले विजयी भएको थियो ।