सहिद स्मारक ‘ए’ डिभिजन लिग

अग्रता जोगाउन नसक्दा संकटासँग बराबरीमा रोकियो मनाङ

फाइल फोटो

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबसँग २-२ को बराबरीमा रोकिएको छ ।

च्यासल मैदान बिहिबार सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा मनाङ अंक बाँड्न बाध्य बन्यो ।

बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोडेको छ । संकटाको पनि समान खेलबाट २३ अंक नै छ ।

मनाङका लागि दुवै गोल टिमोथी कोफी कुन्डोले गर्दा संकटाका लागि युसेफ एट्रिस र मिनष डाँगीले समान एक गोल गरे ।

खेलको १९औं मिनेटमा कुन्डोको गोलमार्फत मनाङले अग्रता लिएको थियो । ४४औं मिनेटमा एट्रिसले संकटालाई बराबरीमा ल्याए ।

४५औं मिनेटमा कुन्डाले ब्यक्तिगत दोस्रो गोल गर्दा मनाङ २-१ ले अघि बढ्यो । ५२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई २-२ को बराबरीमा ल्याए ।

मनाङ लिगमा संकटाविरुद्ध अपराजित रह्यो । पहिलो लेगमा मनाङ १-० ले विजयी भएको थियो ।