सहिद स्मारक ‘ए’ डिभिजन लिग

बराबरीमा रोकिए मछिन्द्र र फ्रेन्ड्स

काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबसँग २-२ को बराबरीमा रोकिएको छ ।

बराबरीसँगै मछिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ । फ्रेन्ड्सको समान खेलबाट २१ अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  बिहिबार सम्पन्र खेलमा मछिन्द्रका लागि दुवै गोल ओलावाले अफिजले गरे । फ्रेन्ड्सका लागि प्रकाश बुढाथोकी र रफिक अमिनुले समान एक गोल गरे ।

खेलको ६८औं मिनेटमा प्रकाशले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । प्रकाशले डोना थापाले उपलब्ध गराएको बललाई अगाडी बढाउँदै मछिन्द्रका रक्षक र गोलकिपरलाई बिट गर्दै पोस्टको दिशा दिएका थिए ।

फ्रेन्ड्सको अग्रता लामो समयसम्म टिक्न भने सकेन तीन मिनेटपछि नै अफिले मछिन्द्रलाई बराबरीमा ल्याए । अफिजले युटा सुजुकीको कर्नरलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

७९औं मिनेटमा अन्जल महर्जजको क्रसलाई गोलमा परिणत गर्दै अमिनु फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए । ८३औं मिनेटमा अफिजले ब्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-२ को बराबरीमा ल्याए ।

अफिजले छिरिङ गुरुङको प्रहारलाई फ्रेन्ड्सका रक्षकले रोक्न नसक्दा गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए ।

मछिन्द्र लिगमा फ्रेन्ड्सविरुद्ध अपराजित रह्यो । पहिलो लेगमा मछिन्द्र २-१ ले विजयी भएको थियो ।