च्याम्पियन्स लिग

हामीले आफूलाई प्रमाणित गरिसकेका छौः ग्वार्डिओला

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आगमी साता प्रिमियर लिगको उपाधि रक्षा गर्न सके त्यसले आफ्नो मात्र नभई समग्र क्लबको उपलब्धी बढ्ने बताएका छन ।

आइतबार हुने खेलमा चेल्सीमाथि जित निकालेमा सिटीले ६ वर्षमा पाँचौ पटक प्रिमियर लिगको उपाधि जित्नेछ । शीर्ष स्थानको सिटीको ३५ खेलमा ८५ अंक छ । जुन दोस्रो स्थानको आर्सनलभन्दा ४ अंक बढी हो । सिटीले आर्सनलभन्दा एक खेल कम खेलेको छ ।

सिटी यस सिजन तेहेरो उपाधिको खोजीमा छ । सिटीले आज हुने च्याम्पियन्स लिगको सेमिफाइनलमा दोस्रो लेगमा रियाल मड्रिडको सामना गर्नेछ । त्यस्तै सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ । 

सिटीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । २०२१ मा फाइनलमा सिटी चेल्सीसँग निराश भएको थियो । 
ग्वार्डिओलाले बार्सिलोनामा रहँदा भने दुई पटक च्याम्पियन्स लिग जितेका थिए । 

‘च्याम्पियन्स लिगको उपाधिले मात्र मलाई स्थापित गर्ने होइन । म सिटीमा यसअघि नै स्थापित भैसके,’ग्वार्डिओलाले भने, ‘आज हुने रियालविरुद्धको खेल हाम्रा लागि महत्वपूर्ण छ । टोली च्याम्पियन्स लिगको उपाधि खडेरी तोड्ने लक्ष्यमा थप एक कदम अघि बढ्न चाहन्छ । मैले खेलाडीलाई स्वभाविक प्रदर्शनका लागि निर्देशन दिएको छु ।’