भेट्रान्स फुटबल प्रतियोगिता कार्तिक पहिलो साताबाट

काठमाडौं, (खेलाडी)-  फुटबलर्स मिसन टुगेदरको आयोजनाका कार्तिकको सुरुमा भेट्रान्स फुटबल प्रतियोगिता  हुने भएको छ ।

पुर्व फुटबलरहरको संस्था फुटबलर्स मिसन टुगेदरले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै कार्तिक ६ देखि १६ गतेसम्म मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता  हुने जानकारी गरायो ।

पुर्व तथा वर्तमान फुटबल खेलाडी र फुटबलकर्मीलाई आर्थिक सहयोग र औेषधि उपचारका लागि बिमा गर्ने उदेश्यमा प्रतियोगिता गरिन लागेको फुटबलर्स मिसन टुगेदरका उपाध्यक्ष विज्ञाानराज शर्माले जानकारी गराए ।

प्रतियोगितालाई ललितपुर महानगरपालिकाले मुख्य प्रायोजन गरेको छ । यसैगरी नागार्जुन नगरपालिकाले प्रथम र गोदावरी नगरपालिकाले दोस्रो पुरस्कार प्रायोजन गरेको आयोजक संस्थाका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले जानकारी गराए ।

यसैगरी अखिल नेपाल फुटबल संघले पाँच लाख रुपैयाँ उपलब्ध गराउने फुटबलर्स मिसन टुगेदरका महासचिव धिरेन्द्र प्रधानले बताए ।

महासचिव प्रधानका अनुसार प्रतियोगितामा १० देखि १६ टिमको सहभागिता रहनेछ । टिम दर्ताका लागि असोज २५ गतेसम्मको समयसिमा तोकिएको छ ।

प्रतियोगिताका खेलहरु दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् ।