इटालियन सिरी ए

भेरोनामाथि इन्टरको सहज जित

मिलान । इटालियन सिरी ए को शीर्ष चारको दौडमा रहेको एसी मिलान र रोमा रोकिएको दिन बुधबार इन्टर मिलानले भने हेलास भेरोनामाथि ६-० को जित निकालेको छ । 

इन्टरको सहज जितमा इडेन जेको र लौटारो मार्टिनेजले समान दुई गोल गरे । 

इन्टरले बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा मिलानको सामना गर्दैछ । मिलानविरुद्धको खेलअघि निकालेको जितले इन्टरको मनोबल बढेको छ । 

३१औं मिनेटमा भेरोनाका एडल्फो गाइचले गरेको आत्मघाती गोलमा इन्टरले अग्रता लिएको थियो । ३६औं मिनेटमा हकान चालहानोग्लुले इन्टरको अग्रता दोब्बर पारेका थिए । त्यसको दुई मिनेटपछि नै जेकोले इन्टरको अग्रता ३-० मा पुर्याएका थिए ।

५५औं मिनेटमा लौटारो मार्टिनेजले इन्टरलाई फराकिलो जिततर्फ डोहोर्याउने संकेत गरेका थिए । ६१औं मिनेटमा जेकोले मिलानको अग्रता ५-० मा पुर्याएका थिए । 
इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिनेजले इन्टरका लागि छैटौं गोल गरे ।

इन्टर ३३ खेलमा ६० अंकसहित चौथो स्थानमा छ । जनु दोस्रो स्थानको लाजियो र तेस्रो स्थानको युभेन्टस भन्दा क्रमशः २ र १ अंक कम हो । पाँचौ स्थानको  एट्लान्टा ,छैटौं स्थानको मिलान र सातौं स्थानको रोमाभन्दा इन्टर मात्र २ अंकले अघि छ । 

शनिबार रोमाविरुद्ध हुने खेलले इन्टरको शीर्ष चारको सम्भावना थप स्पष्ट पार्नेछ ।

रोमा मोन्जासँग १-१ को बराबरीमा रोकिएको थियो भने मिलान क्रिमोन्सेसँग १-१ को बराबरीमा रोकिएको थियो ।