स्पेनिस ला लिगा

शीर्ष स्थानमा अग्रता बढाउँदै बार्सिलोना

मड्रिड । राफिन्हाले एक गोल गर्नुका साथै अर्को एक खेलका लागि पास उपलब्ध गराएको खेलमा बार्सिलोनाले शनिबार रियाल बेटिसमाथि ४-० को सहज जितसहित स्पेनिस ला लिगाको शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ ।

शनिबार नै सम्पन्न खेलमा करिम बेन्जेमाको ह्याट्रिकप्रेरित रियाल मड्रिडले अल्मेरियामाथि ४-२ को जितका साथ बार्सिलोनासँगको दुरी ८ अंकमा झारेको थियो । 

शीर्ष स्थानको बार्सिलोनाको ३२ खेलमा ७९ अंक छ भने दोस्रो स्थानको रियालको भने समान खेलमा ६८ अंक छ । तेस्रो स्थानको एट्लेटिको मड्रिडको ६३ अंक र चौथो स्थानको रियाल सोसिडाडको ५३ अंक छ । पाँचौ स्थानको भियारियालको ५० अंक छ । 

१४औं मिनेटमा आन्द्रेस क्रिस्टेनसेनले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ३३औं मिनेटमा गोन्जाल्वेज दोस्रो पहँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि बेटिसले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । 

३६औं मिनेटमा रोबर्ट लेवान्डोवस्कीको गोलमा बार्सिलोनाले अग्रता दोब्बर पारेको थियो । ३९औं मिनेटमा राफिन्हाले बार्सिलोनाको अग्रता ३-० मा पुर्याएका थिए । खेल सकिन ८ मिनेट बाँकी रहँदा बेटिसका रोर्डिग्वेजको आत्मघाती गोलमा बार्सिलोनाले सहज जित पक्का गरेको थियो ।