सहिद स्मारक ‘ए’ डिभिजन लिग

एनआरटीसँग थ्री स्टार पराजित

काठमाडौं । सन्जिव विष्टले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा थ्री स्टार क्लबमाथि १-०को कठिन जित निकालेको छ ।

यस जितसँगै एनआरटी १२ खेलमा ४ जित, ४ बराबरी र ५ हारको नतिजासहित १६ अकंका साथ आठौं स्थानमा उक्लिएको छ । 

पराजयसँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको थ्री स्टार १३ खेलमा ६ जित, ४ बराबरी र ३ हारको नतिजासहित २२ अंकका साथ दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको जावलाखेलको भन्दा मात्र १ अंक कम हो ।

 सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सन्जिवले खेलको ३७औं मिनेटमा  गोल गरे । सन्जिवले सरोज तामाङको प्रहारलाई थ्री स्टारका गोलकिपर मोहम्मद ताहाले पन्च गर्दा प्राप्त रिबाउन्डलाई पोस्टको दिशा दिएका थिए ।

त्यसअघि ३५औं मिनेटमा सन्तोष साहुखला पेनाल्टीमा चुक्दा थ्री स्टारले अग्रता लिने अवसर गुमाएको थियो । सन्तोषको प्रहार बाहिरिन पुग्यो ।  

एनआरटीका रक्षक गौरव श्रेष्ठले पिटर सेगुनलाई पेनाल्टी बक्स भित्र लडाएपछि थ्री स्टारले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

इन्जुरी समयमा पिटरले गोल गर्ने सुनौलो अवसर गुमाए । ओशक खवासको प्रहार एनआरटीका गोलकिपर सन्तोष महतले राम्रोसँग नियन्त्रण गर्न नसक्दा प्राप्त बललाई पिटरले बाहिर प्रहार गरेका थिए ।