राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलः गण्डकी विजयी

फाइल फोटो

दमक । झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।

कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविको खेल मैदानमा  गण्डकीले मधेस प्रदेशलाई ३–० सोझो सेटमा हराएको हो । हारसँगै मधेस प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

गण्डकीले खेल ७-२५, १५-२५ र १८-२५ ले आफ्नो पक्षमा पारेको थियो । जितसँगै गण्डकी प्रदेशले सेमिफाइनल प्रवेशका लागि आज साँझ लुम्बिनी प्रदेशको सामना गर्नेछ ।

लुम्बिनीले  बिहिबारकाे दोस्रो खेलमा मधेस प्रदेशलाई सोझो सेटमै हराएको थियो ।

गण्डकी र लुम्बिनीबीचको विजेताले सुदूरपश्चिम प्रदेशसँग दोस्रो सेमिफाइनल खेल्नेछ । हार्ने टोलीले कोशी प्रदेशको सामना गर्नेछ ।

५ प्रदेशको सहभागिता रहेको प्रतियोगितामा लुम्बिनी, मधेस र गण्डकी प्रदेश समूह ‘क’ तथा कोशी र  सुदूरपश्चिम समूह ‘ख’ मा छन् । कर्णाली र बागमती प्रदेश भने आन्तरिक विवादका कारण प्रतियोगितामा सहभागी छैनन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ सहित ट्रफी, मेडल पाउनेछ भने उपविजेताले एक लाख ५० हजार रुपैँया, ट्रफी, मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ले २५ हजार तथा उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिब्रो र सर्भर तथा प्रशिक्षकले जनही १० हजार रुपौयाँ पाउनेछन् ।