सहिद स्मारक ए डिभिजन लिग

थ्री स्टारलाई शीर्ष स्थानमा उक्लिने अवसर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज न्युरोड टिम (एनआरटी) को सामना गर्दा थ्री स्टार क्लब जितसहित शीर्ष स्थानमा बस्दै पहिलो चरणको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

लिगमा खराब सुरुआत गरेको थ्री स्टार क्लब १२औं चरणको समाप्तीमा आफुलाई शीर्षताको होडमा उभ्याउन सफल भएको छ । थ्री स्टारले पछिल्लो खेलमा मच्छिन्द्र फुटबल क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो । 

थ्री स्टार १२ खेलमा २२ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको जावलाखेल युथ क्लबभन्दा १ अंक मात्र कम हो । तेस्रो स्थानको सातदोबाटो युथ क्लबको २१ अंक छ । 

यता एनआरटी भने १२ खेलमा १३ अंकसहित ११औं स्थानमा छ । एनआरटी थ्री स्टारको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा ब्रेक लगाउँदै पहिलो चरणको सुखद अन्त्य गर्न चाहन्छ ।