आइडब्लुएल

डेब्यू खेलमै एन्जिलाको ‘क्लिन सिट’

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा इन्डियन वुमन्स लिग (आइडब्लुएल) को डेब्यु खेलमै ‘क्लिन सिट’ राख्न सफल भएकी छन् ।

लिगकाे समूह ‘बी’अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा एन्जिला सम्मिलित सेथु एफसीले चर्चिल ब्रदर्समाथि ६-० को फराकिलो जित निकाल्याे ।

यस जितसँगै लिगमा सुखद सुरुआत गरेको सेथुले ३ अंक जोडेको छ ।

सेथुलाई जित दिलाउन काजोल डि’सुजाले ४ तथा आइवी एटिएनो र सुनिता मुन्डाले समान १ गोल गरे ।

काजोलले खेलको नवौं, ११औं, ४२औं र ४५ औं मिनेटमा गोल गर्दै सेथुलाई पहिलो हाफमै ४-० ले अगाडी बढाएकी थिइन् । ५४ औं मिनेटमा आइवी तथा ७२ औं मिनेटमा सुनिताले गोल गर्दै टोलीलाई ६-० को फराकिलो जित दिलाए ।

सेथुले लिगको दोस्रो खेलमा आइतबार नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित लर्डस एफएको सामना गर्नेछ ।