सहिद स्मारक ‘ए’ डिभिजन लिग

एनआरटीले खुमलटारलाई हरायो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी) ले एफसी खुमलटारमाथि ३-१ को जित निकालेको छ ।

यस जितसँगै १० खेलमा दुई जित, चार बराबरी र चार हारको नतिजासहित एनआरटीले १० अंक जोडेको छ । पराजय ब्यहोरेको खुमलटारको समान खेलबाट तीन जित, एक बराबरी र ६ हारको नतिजासहित १० अंक नै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १०औं चरण अन्तर्गतको खेलमा एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सन्जिव विष्ट र मोहित गुरुङले समान एक गोल गरे ।
खुमलटारका श्याम मुर्मुले एक गोल फर्काए ।

खेलको ६५औं मिनेटमा सरोजले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । सुशन श्रेष्ठको क्रसमा अनमार्क रहेका सरोजले हेडमार्फत गोल गरेका हुन् ।

८२औं मिनेटमा सन्जिवले टोलीको अग्रता दोक्बर बनाए । सन्जिवले कृतिस रत्न छुन्जुको पासमा खुमलटारका डिफेन्डर अभिषेक लिम्बुले क्लियर गर्न नसकेको बललाई पोस्टको दिशा दिए ।  

८५औं मिनेटमा मोहितले कृतिसकै पासमा गोल गर्दा एनआरटी ३-०ले अघि बढ्यो । ९०औं मिनेटमा श्यामले  गोल गर्दा खेल ३-१ को स्थितीमा सकिएको हो ।