राष्ट्रपति रनिङ सिल्ड बागमती छनोट

राष्ट्रपति रनिङ सिल्ड बागमती छनोटः काठमाडौं टिम च्याम्पियन

काठमाडौं । १३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको च्यामिपयन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीद्धारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णसाथ दोश्रो भयो । तेश्रो स्थानको मकवानपुरले ६ स्वर्ण जित्यो। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राीत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेपं) को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन छात्रको भलिबलमा चितवन पहिलो, धादिङ दोश्रो तथा मकवानपुर र ललितपुर तेश्रो भए । छात्रामा काठमाडौंले स्वर्ण, मकवानपुरले रजत तथा काभ्रे र ललितपुरले कास्य जिते ।

कबड्डीको छात्रमा काभ्रे पहिलो, काठमाडौं दोश्रो तथा धादिङ र मकवानपुर तेश्रो भए। छात्रामा काठमाडौं विजेता, धादिङ उपविजेता तथा मकवानपुर र भक्तपुर तेश्रो बने ।
विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, राखेपका बोर्ड सदस्यद्वय अन्जन धमला र प्रकाश कुसारी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उपमहासचिव पिताम्बर तिम्सिना, प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहाल, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी लगायतले पुरस्कृत गरे ।

तीन दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा ५२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीका अनुसार जम्मा एक हजार दुई सय ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।