साफ च्याम्पियनसिपमा नेपाल : सधै अध्यारो नतिजा, यसपाली फाइनल पुग्ने लक्ष्य

काठमाडौं, (खेलाडी)- दक्षिण एसियाली फुटबलमा नेपाल एउटा यस्तो टोली हो, जो सधै हरेक प्रतियोगितामा दाबेदारको हैसियतमा प्रवेश गर्ने गर्छ । तर संयोग क्षेत्रीय फुटबलको सवैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालको नतिजा सधै निराशाजनक रहने गरेको छ ।

१९९३ मा पाकिस्तानको लाहोर तथा १९९५ मा श्रीलंकाको कोलम्बोमा भएको सार्क गोल्डकपका दुई संस्करणलाई पनि अहिले साफ च्याम्पियनसिपमै गाभेर गणना गरिन्छ । यसअर्थमा साफ च्याम्पियनसिपका १२ संस्करण सम्पन्न भइसकेका छन् । तर सधैको ‘दाबेदार’ नेपाल अहिलेसम्म विजेताको पगरी गुथ्न भने सफल भएको छैन । फाइनल पनि पुग्न सकेको छैन । 

लाहोरमा पाकिस्तानसँग पहिलो खेलमा १-१ तथा त्यसपछि श्रीलंकासँग गोलरहित बराबरी खेलेपछि अन्तिम खेलमा भारतसँग १-० को नतिजामा पराजित भएको नेपालले सान्त्वनास्वरुप तेस्रो स्थान हासिल गरेको थियो । चार टोलीमात्र सहभागी प्रतियोगितामा एउटै खेल नजिते पनि तेस्रो भएको थियो । 

श्रीलंकामा पाँच टोली सहभागी हुँदा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता पनि नेपाली टिमको सफलता भनेकै अन्तिम चारसम्म पुग्नुमात्र रहँदै आएको छ । 

१९९९ मा गोवामा सम्पन्न दोस्रो साफ च्याम्पियनसिप (समग्रमा चौथो संस्करण)मा सेमिफाइनल पुगेको नेपाल त्यसपछि लगातार चार संस्करणमा समूह चरणबाटै घर फर्कियो । 

२००२ मा वंगलादेशको ढाकामा सम्पन्न तेस्रो साफ च्याम्पियनसिप, २००५ मा पाकिस्तानको कराचीमा सम्पन्न चौथो संस्करण तथा २००८ मा श्रीलंका र माल्दिभ्सले संयुक्त रुपमा आयोजना गरेको पाँचौ संस्करणमा लगातार नेपालको नियति पहिलो चरणबाटै घर फर्किनेमा सीमित भयो । 

यसैगरी २००९ को डिसेम्बरमा बंगलादेशको ढाकामा पनि नेपालको भाग्य फेरिएन । समूहमा अफगानिस्तानसँग ३-० को जित हासिल गर्नुका साथै माल्दिभ्ससँग १–१ को बराबरी नतिजा निकाले पनि भारतसँग १-० को नतिजामा पराजित भएको नेपालको यात्रा अगाडि बढेन ।

भारतको नयाँ दिल्लीमा २०११ मा भएको प्रतियोगिताअन्तर्गत बंगलादेशविरुद्ध इन्जुरी समयमा कप्तान सागर थापाले मैदानको मध्य भागबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएपछि नेपाल तेस्रो पटक सेमिफाइनल पुग्यो । 

अन्तिम चार पुग्ने क्रमले त्यसको दुई वर्षपछि काठमाडौंमा पनि निरन्तरता पायो । घरेलु मैदानमा बंगलादेश र भारतलाई हराउनाका साथै पाकिस्तानसँग बराबरी खेल्दै नेपालले सेमिफाइनलको यात्रा पक्का गर्यो । 

तर अफगानिस्तानविरुद्धको सेमिफाइनलमा त्यतिबेलाको टोलीका सबभन्दा भरपर्दा खेलाडी रोहित चन्दले दुई पटक पेनाल्टी प्रहारको मौका पाए पनि गोल गर्न नसक्दा २० हजारभन्दा बढि दर्शकको बीचमा फाइनल पुग्ने सुनौलो मौकाबाट नेपाल चुकेको थियो । 

त्यसपछि फेरी साफ च्याम्पियनसिपमा नेपालको यात्रा समूह चरणभन्दा माथि उठ्न सकेको छैन । भारतको केरालामा २०१५ तथा बंगलादेशको ढाकामा २०१८ मा भएका साफ च्याम्पियनसिपका पछिल्ला संस्करणमा नेपाल पहिलो चरणबाटै घर फर्कियो । 
हरेक पटक नेपालको लक्ष्य उपाधि हुने गरे पनि विपक्षीबाट पाउने सम्मान र प्रशंसामा मख्खिएर घर फर्किनु नेपालको ‘उपलब्धि’ हुने गरेको छ । कुनै बेला दक्षिण एसियामा ‘डार्क हर्स’ को उपनाम पाएको टोली त्यस्तै अध्यारो नतिजामै सीमित हुनुपरेको इतिहास छ । 

फेरी एकपटक नेपाल दाबेदारको हैसियतमा नयाँ इतिहास लेखनको लक्ष्यसहित नेपाली राष्ट्रिय टोली माल्दिभ्स पुगेको छ । शुक्रबार सुरु भएर असोज ३० सम्म चल्ने प्रतियोगितामा यसपाली पाँच टोलीमात्र सहभागी भएकाले ‘राउन्ड रोबिन’ पद्दतिमा प्रतिस्पर्धा हुनेछ । जहाँबाट शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् । 

नेपालले आसन्न साफ च्याम्पियनसिपका लागि लामो समयदेखि तयारी गरेको छ । यही प्रतियोगिताका लागि कतारमा दुई साताको विशेष तयारी गरेर नेपाली राष्ट्रिय टोली उतैबाट म‌गलबार माले पुगेको थियो । कतार जानुअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक हार र एक बराबरी नतिजा निकालेको थियो ।

नेपालले पहिलो खेलमै शुक्रबार साविक विजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । मालेको मैदानमा माल्दिभ्ससँग खेल्नु आफैमा कठिन काम भएको नेपाली टोलीले राम्ररी बुझेको छ । अझ कुनै समय एसियाली वर्ष खेलाडीको मनोनयनमा समेत परेका अली अस्फाकको प्रेरणा अहिले पनि माल्दिभ्ससँग हुनेछ । तथापि उनमा अहिले पहिलाजस्तो तेज बाँकी छैन । 

नेपाली टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्ना आलोचकहरुलाई ‘साफ च्याम्पियनसिपको नतिजा हेर्न’ चुनौती दिने गरेका छन् । विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलपछि विपक्षी प्रशिक्षकले गरेको नेपालको प्रशंसाबाट मख्ख परेका अल्मुताइरी भन्ने गर्छन, ‘मैले नेपाली फुटबलको खेल्ने शैली परिवर्तन गरेको छु । टिमलाई एकढिक्का बनाएको छु । हामी कसैसँग नडराइकन आक्रामक फुटबल खेल्न थालेका छौं ।’

अल्मुताइरीको दाबी केही हदसम्म ठिक मान्न सकिन्छ । टिममा एकताको भावना पहिलाभन्दा बढि देखिन्छ । रक्षामा कसिलो र काउन्टर अट्याकमा चुस्त पनि देखिएको छ, जर्मनीमा योर्गान क्लोपले विकास गरेजस्तो ‘गेगेन प्रेस’ शैली अपनाउन खोजेको भान हुन्छ । 

तर त्यो नतिजामा परिणत हुन सक्नुपर्छ, कम्तिमा दक्षिण एसियाली स्तरमा । नत्र विपक्षी टोलीका प्रशिक्षकबाट नेपालले प्रशंसा पाउन थालेको पाँच दशक नाघिसकेको छ । अब प्रशंसाले पुग्दैन, नतिजा चाहिन्छ ।