पुलिस र आर्मी सेमिफाइनलमा

काठमाडौं, (खेलाडी)- नेपाल पुलिस र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले बिहीबार छैटौं राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा जारी प्रतियोगिताको अन्तिम आठको खेलमा पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-१९, २५-१८, २५-१९ को सोझो सेटमा हरायो । 

तेस्रो सेटमा खेल २४-१९ को अवस्थामा चलिरहँदा ढोरपाटनले खेलाडी परिवर्तनमा फाउल गरेपछी पुलिसले पेनाल्टी स्वरुप अंक प्राप्त गर्दै नतिजा आफ्नो पक्षमा पार्‍यो । 
 
राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको टिम त्रिभुवन आर्मी क्लब समक्ष बाग्लुङको गल्कोट स्पोर्ट्स क्लबले कडा चुनौती प्रस्तुत गरे पनि आर्मीलाई ३-१ को सेटमा नतिजा सुम्पियो ।

निक्कै रोमाञ्चक खेलको  पहिलो सेट गल्कोटले २५-१५ ले सुम्पिए पनि दोस्रो सेट १९-२५ ले आफ्नो पक्षमा पारेको थियो । 

त्यसपछि लगातार तेस्रो र चौथो सेट आर्मीले  २५-१५, २५-१३ ले आफ्नो बनायो । 

आजको अन्तिम खेलमा समूह 'डी' को विजेता एपिएफ र समूह 'बी' को उपविजेता गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।