इङ्लिस प्रिमियर लिग

लाम्पार्ड क्लबलाई सुखद नतिजा दिन आतुर

लन्डन । फ्रयांक लाम्पार्डले यस सिजनको अन्त्यपछि चेल्सीमा बस्ने कुनेै योजना नभएको र क्लबलाई तत्काल उनीहरुले चाहेको नतिजा दिन आतुर रहेको बताएका छन ।

आइतबार मुख्य प्रशिक्षक ग्राहम पोर्टरलाई बर्खास्त गरेको चेल्सीले बिहीबार यस सिजनको बाँकी रहेका खेलका लागि पूर्वप्रशिक्षक लाम्पार्डलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

क्लबका प्रशिक्षक टोड बोइलीले लाम्पार्डसँग लामो सम्झौता गर्ने तयारी गरिरहेको खबर समेत सार्वजनिक भएको थियो । 

‘म नतिजामा विश्वास गर्छु’, लाम्पार्डले भने, ‘चेल्सी अहिले कठिन स्थितीमा छ । आगामी सिजन घरेलु प्रतियोगितामा सीमित हुने संघारमा रहेको छ । मेरो लक्ष्य चेल्सीलाई युरोपियन प्रतियोगितामा छनोट गराउनु र च्याम्पियन्स लिगमा पनि राम्रो नतिजा ल्याउनु हो । मेरा लागि स्टाफोर्ड ब्रिजको पुनरागमन अवसरका साथै चुनौती पनि हो । अहिले मैले यस सिजनको अन्त्यपछि के गर्ने भन्ने निर्णय लिइसकेको छैन । '

चेल्सीले सन् २०२१ मा लाम्पार्डलाई बर्खास्त गर्दै थोमस टुचेललाई प्रशिक्षकमा नियुक्त गरेको थियो ।