नेपाली फुटबल

ओलिम्पक छनोटः राम्रो खेल्नेमा प्रशिक्षक थापा विश्वस्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले भियतनामसँगको खेलमा खेलाडीहरुले राम्रो खेल प्रस्तुत गर्नेमा विश्वास रहेको बताएका छन् ।

पेरिस ओलम्पिक २०२४ को एसियाली छनोट अन्तर्गत पहिलो चरणको पहिलो खेलमा भोलि अप्रिल ५ मा नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पत्रकार सम्मेलनमा आज (मंगलबार) प्रशिक्षक थापाले खेलाडीहरुबाट राम्रो खेलको अपेक्षा गरेको र नतिजा राम्रो ल्याउनेमा विश्वास रहेको बताएका हुन् ।

‘भियतनाम एउटा बलियो टोली हो । यो पाली विश्वकप खेल्दैछ । तर, हाम्रोमा पनि राम्रा खेलाडीहरु छन् । पछिल्लो एक महिना देखि अभ्यास गरिरहेका छौँ । त्यसैले केटीहरुले राम्रो खेल प्रस्तुत गर्ने र राम्रो नतिजा ल्याउनेमा विश्वास छ, ’ थापाले भने ।

त्यस्तै थापाले भियतनामविरुद्ध नेपाली खेलाडीले धेरै कुरा सिक्न सक्ने हुनाले खेललाई अवसरका रुपमा लिएको बताए ।

‘फुटबलमा अगाडी बढ्ने हो भने नेपाल जस्तो टिमले आफूभन्दा राम्रो टिमसँग खेल्न आवश्यक छ । भियतनामसँगको खेलबाट खेलाडीहरुले एक्स्पोजर पाउँछन् जस्तो लाग्छ । केटीहरुमा पनि केही गर्नुपर्छ भन्ने भावना छ । त्यसैले कसले नाम फिर्ता लियो र समूहमा को को छन्, त्यसले फरक पार्दैन । त्यसैले यसलाई अवसरका रुपमा लिएको छु, ’ थापाले भने ।

समूह ‘सी’मा रहेका अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र प्रतिस्पर्धा गर्न लागेको हो ।

त्यस्तै प्रशिक्षक थापाले दुई महिना अगाडी भारतविरुद्ध खेलेका दुई मैत्रीपूर्ण खेलले टिममा थप उर्जा आएको जानकारी दिए ।

‘भारतविरुद्धको मैत्रीपूर्ण खेलले एक किसिमको राम्रो वातावरण सृजना भएको छ । बलियो र कमजोर पक्ष पत्ता लगाउन सक्यौं । व्यक्तिगत रुपमा खेलाडीहरुलाई बुझ्नका लागि ती म्याचहरु महत्वपूर्ण रह्यो, ’ थापाले भने ।

नेपालले गत फेब्रुअरीमा ओलम्पिक छनोटको तयारीका लागि चेन्नाईमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेल बराबरीमा टुंगिएको थियो ।

टिमका महत्वपूर्ण सदस्यमध्ये एक, रक्षक गीता राणा मगर खुट्टाका  चोटका कारण मैदान बाहिर छिन् । उनको अनुपस्थितीले टिमलाई पक्कै पनि गार्हो पर्ने देखिन्छ । तर, प्रशिक्षक थापाले टिममा अन्य राम्रा विकल्पहरु रहेको दावी गरे ।

पत्रकार सम्मेलनमै कप्तान तथा गोलकिपर एन्जिला तुमबाप्पो सुब्बाले पनि भियतनामविरुद्ध राम्रो प्रदर्शन गर्ने बताए ।

‘भियतनाम फिफा वरियतामा हामीभन्दा माथि नै छ । तर, तालिकाले फरक पर्दैन, किनभने पहिले पनि हामीले ओलम्पिक छनोट खेल्दा खेरि म्यानमारसँग बराबरी खेलेका थियौं । भोलिको हाम्रो लक्ष्य जित्ने नै हो । मैदानभित्र गइसकेपछी कसैलाई पनि हार्ने इच्छा हुँदैन । सबै कुरा सम्भव छ, अन्तिम मिनेटसम्म प्रयास गर्याैँ भने पक्कै पनि नतिजा राम्रो आउनेछ, ’ एन्जिलाले भनिन् ।