आइसिसी विश्वकप छनोट प्ले अफ

नामिबियाले दियो क्यानाडालाई दुई सय ६८ रनको लक्ष्य

 

काठमाडौं । शन फोउचको उत्कृष्ट ब्याटिङप्रेरित घरेलु टोली नामिबियाले आइसिसी पुरुष विश्वकप छनोटको प्ले अफमा क्यानाडा सामू दुई सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

विन्डहोकस्थि वान्डरर्स क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राजेको नामिबियाले निर्धारित ५० ओभरमा नौ  विकेट गुमाउँदै दुई सय ६७ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका लागि फोउचले एक सय सात बलमा सात चौका र एक छक्काको मद्दतमा सर्वाधिक ८३ रन बनाए । यसैगरी जान ग्रिनले ४५, निकोलस डेभिनले ४०, पिक्की या फ्रान्सले अविजित ३४ , लोफ्टी इएटनले १८ र कप्तान जेरार्ड इरस्मसले १४ रन जोडे ।

पहिलो विकेटका लागि फोउच र डेभिनले ६३ रनको साझेदारी गरेका थिए ।


क्यानाडाका लागि कलिम साना र हर्ष थकरले समान दुई तथा जेरिमी गोर्डन, डिलोन हेलिगर, कप्तान साद बिन जफर र निखिल दत्तले समान एक विकेट लिए ।

दुवै टोली तेस्रो जितको खाजीमा छन् । हाल चार खेलमा समान दुई जित र हारको नतिजासहित  चार अंकका साथ नामिबिया चौथो स्थानमा छ । तीन खेलमा दुई जित र एक हारको नतिजा निकालेको क्यानाडा चार अंक जोडेर तेस्रो स्थानमा छ ।