अखिल नेपाल फुटबल स‍घ

एन्फा विवादः बैठकमा असन्तुष्ट पक्ष अनुपस्थित

काठमाडाैं । अखिल नेपाल फुटबल संघ(एन्फा) भित्रकाे किचलो पुनः सतहमा आएको छ । एन्फाले शनिबार बिहान ९ बजेका लागि बोलाएको कार्यसमिति बैठकमा असन्तुष्ट पक्षका ११ जना अनुपस्थित भएका छन् ।

एन्फाले विना एजेन्डा बैठक बोलाएको भन्दै तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, मनिष जोशी, सरिला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामा र अनिल मल्ल बैठकमा उपस्थित नभएका हुन् । 

अघिकांश सदस्य भौतिक रूपमा अनुपस्थित भए पछि एन्फाले जुममार्फत बैठक राख्ने भन्दै लिङ्क पठाए पनि उनीहरु त्यसमा पनि जोडिएका छैनन् । 
 

‘उहाँहरुले अस्ती मात्र बैठकको बारेमा जानकारी दिनु भएको थियो । विना एजेन्डाको बैठमा जाँदैनौं भनेर हामी नगएका हौं,’ उपाध्यक्ष शाहीले भने,‘अध्यक्ष पक्ष हामीलाई पेलेर अघि बढ्न खोजी रहनु भएको छ । अधिकांश सदस्य अनुस्थित हुँदा पनि बैठक बसिरहेको छ भन्ने सुनेको छु । त्यहाँ के भइरहेको छ थाहा छैन ।’

गएको फागुन १७ मा बसेको एन्फा कार्य समितीको निर्णयप्रति पनि असन्तुष्ट सदस्यले असहमती जनाउँदै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई इमेलमार्फत पत्र बुझाएका थिए ।

विवादका बाबजुत पनि एन्फा कार्यसमिती बैठकले राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनासीलाई नियुक्त गर्ने,सहायक महासचिवमा दामोदर भट्टराई, वसन्त अर्याल र अरुणमान जोशी तथा सह कोषाध्यक्षमा पूर्णमान चित्रकारलाई नियुक्त गर्ने लगायतका विभिन्न २० वटा निर्णय गरेको थियो ।

एन्फा बिधानको धारा ४० को दफा (१) बमोजिम बहुमत सदस्यहरूको उपस्थित नभए सम्म छलफल अगाडि बढ्ने छैन भन्ने स्पष्ट व्यबस्था गरेको छ। साथै सोही धारा को दफा २ मा बहुमत सदस्यहरुद्वारा (५० प्रतिश) निर्णय गर्न सकिने छ र अध्यक्षले मत बराबर भएको अबस्थामा मात्र निर्णयक मत दिन पाउने ब्यवस्था छ ।

उनीहरुले यसरी किर्ते हस्ताक्षर गरी बैठकको कोरम पुर्याएर गरिएको निर्णयहरु विधी, विधान, पद्धती  विपरित र अवैधानिक भएको हुँदा सम्पूर्ण निर्णयहरुमा असहमती जनाउदै अवैधानिक निर्णय खारेजीको माग गरेका थिए ।  

त्यसअघि फागुन १७ को बैठकमा आफ्नो एजेन्डा थप गर्ने मागको सुनवाइ नभएको उनीहरु बैठक छाडेर बाहिरिएका थिए ।