खप्तड गोल्डकप

मनाङ फाइनलमा

काठमाडौं । क्यामरुनको एभिनियर क्लबमाथि ६-० को फराकिलो जित निकाल्दै ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल  प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा ७ खेलाडीमा समेटिएको एभिनियरविरुद्ध मनाङलाई जित दिलाउन सुडिजो अजमोल जमालले ह्याट्रिक तथा जीवन गुरुङ, अनिल गुरुङ र प्रसन्न श्रेष्ठले समान एक गोल गरे ।

खेलाडीको कागजी प्रक्रिया नपुगेपछि क्यामरुनी क्लब ९ खेलाडीसहित मैदान उत्रिएको थियो ।  खेलका दौरान जोर्डन जुनियर र गोलकिपर नापोलिन यानले रातो कार्ड पाएपछि क्यामरुनी टोली सात खेलाडीमा समेटिएको हो।

खेलको १२ औं मिनेटमा जीवनको गोलमार्फत मनाङले अग्रता लिएको थियो ।

विपक्षी टोलीमा कम खेलाडी हुनुको फाइदा मनाङले दोस्रो हाफमा राम्रोसँग उठायो । ५४ औं मिनेटमा प्रसन्नले टोलीको अग्रता दोब्बर बनाए । 
यसैगरी ५९ औं, ६७ औं र ७७ औं मिनेटमा जमलले गोल गर्दै ह्याट्रीक पूरा गरे । ८१ औं मिनेटमा अनिलले गोल गरेपछि मनाङले ६-० को फराकिलो जित निकाल्यो ।

अब मनाङले उपाधिका लागि सुदूरपश्चिम-११ र थ्री स्टारबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।