सहिद स्मारक ’ए’ डिभिजन लिग

सातदोबाटोको चौँथो जित, खुमलटार २–१ ले पराजित

ललितपुर । १० खेलाडीमा झरेको सातदोबाटो युथ क्लबलाई अन्तिम १३ मिनेट र इन्जुरी समय, दबाबमा राखेपनि गोल गर्न नसक्दा खुमलटार एएफसीले जारी  सहिद स्मारक ’ए’ डिभिजन लिगमा तेस्रो हार ब्यहोरेको छ ।

लिगमा सातदोबाटोको  यो चौथो जित हो । जितसँगै सातदोबाटोले पाँच खेलमा १२ अंक जोडेको छ भने समान खेलबाट खुमलटारको ६ अंक छ ।

बिहिबार (आज) च्यासलस्थित च्यासल मैदानमा  सातदोबाटोको जितमा सार्दोर्बेक माट्मुराटोभ र दीपक राज सिंह ठकुरीले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खुमलटारका लागि एक मात्र गोल राजिभ लोप्चनले दोस्रो हाफमा गरेका थिए ।

खेल सुरु भएको १३ मिनेटमै विलियम ओपोकु एसियदुको क्रसमा माट्मुराटोभले  सुन्दर हेडेड गोल गरेपछि सातदोबाटोले अग्रता लिएको थियो ।

त्यसको १२ मिनेटपछि सातदोबाटोले अग्रता दोब्बर बनायो । जारी लिगमा उच्च लयमा रहेका दीपकले अब्दुल लटिफको क्रसमा वान टचमा गोल गरे ।

दोस्रो हाफको  ६४ औं मिनेटमा मेसोकेको क्रसमा बिनोङको हेडर पोस्टमा ठोक्किएको थियो । रिबाउन्ड बललाई राजिभले गोलमा परिणत गरेका थिए ।

यसबीच खेलमा दुवै टोलीले कयौं मौका सृजना गरेका थिए ।

खेल सुरु भएको २० सेकेन्ड्स भित्रै सातदोबाटोका उमेश राईको क्रसमा ओपोकुले गरेको हेडर बाहिरिएको थियो ।

अग्रता लिनुभन्दा केही सेकेन्ड्स अगाडी सातदोबाटोले सुन्दर अवसर गुमाएको थियो । ओपकुको पासमा पासाङ लामाले गरेको शक्तिशाली प्रहार खुमलटारका जीवन गुरुङले क्लियर गरेका थिए ।

१५ औं मिनेटमा मेसोके ओलामाउको क्रसमा स्टेफेन बिनोङले गरेको हेडर बाहिरिँदा खुमलटार बराबरी गर्नबाट चुकेको थियो ।

२० औं मिनेटमा दीपकले डिबक्स भित्र सुनौलो अवसरमा पाएको थियो । तर उनको फितलो प्रहार खुमलटार गोलकिपर देव लिम्बुले बचाए ।

२९ औं मिनेटमा बिनोङको पासमा मनिष थापाले गरेको प्रहार बाहिरिँदा खुमलटारले गोलको मौका गुमायो ।

दोस्रो हाफको सुरुवाती १५ मिनेट भित्र गोलकिपर देवले माट्मुराटोभ र उमेशको प्रहार बचाए । पछि दोस्रो हाफको मध्यतिर देव घाइते हुँदै मैदान बाहिरिएका थिए । उनको स्थान राजकुमार लिम्बुले लिए ।

७२ औं मिनेटमा मनिस थापाको शक्तिशाली प्रहार सातदोबाटो गोलकिपर अभिषेक बरालले बचाएपछि खुमलटार बराबरी गर्नबाट चुक्यो ।

७७ औं मिनेटमा खुमलटारका रोशन डोङलाई ट्याकल गरेपछि माट्मुराटोभ दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिए । १० खेलाडीमा झरेपछि सातदोबाटो दबाबमा आएको थियो । तर खुमलटारले यसको फाइदा उठाउन सकेन ।

एक गोल गरेका दीपक  म्यान अफ दि म्याच चुनिए ।