नेपाली फुटबल

चन्द्रपुर मेयर गोल्डकपः धनुषा–११ माथि फराकिलो जित निकाल्दै बाग्मती युवा क्लब अन्तिम चारमा

सर्लाहीको बाग्मती युवा क्लब रौतहटको चन्द्रपुरमा जारी चन्द्रपुर मेयर गोल्डकप–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार चन्द्रपुरस्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा सम्पन्न खेलमा धनुषा–११ माथि ५–१ को फराकिलो जित निकाल्दै बाग्मती प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

बाग्मतीको जितमा विमल घिसिङले दुई गोल गर्दा विजय घलान, राज भुषाल र अनिल रानामगरले समान एक गोल गरे । धनुषाका मनोज लामाले एक गोल फर्काए ।

 खेलको १३औं मिनेटमा विमलले गरेको गोलबाट बाग्मतीले अग्रता बनाएको थियो । ३६औं मिनेटमा विजयले गोल गर्दै बाग्मतीको अग्रता दोब्बर पारे । ३९औं मिनेटमा अनिलले गोल गरेपछि पहिलो हाफमा बाग्मतीले ३–० को अग्रता बनाएको थियो ।

यस्तै, ७२औं मिनेटमा विमलले नै गोल गर्दै बाग्मतीको अग्रता ४–० मा पूर्याए । ८२औं मिनेटमा धनुषाका मनोजले सान्त्वना गोल फर्काएका थिए । तर, त्यसको दुई मिनेटपछि राजले बाग्मतीको लागि पाँचौ गोल गर्दै टिमको फराकिलो जित पक्का गरे ।

जितसँगै सेमिफाइन प्रवेश गरेको बाग्मतीले अब फाइनल प्रवेशका लागि विरगञ्ज युनाइटेडसँग खेल्नेछ । विरगञ्जले यसअघि गोलबजार स्पोर्ट्स क्लबलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

रौतहट जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा आठ टिमको सहभागिता छ । चैत ४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, प्रतियोगिताको एक उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।