काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ अन्तर्गत आज (सोमबार) समपन्न खेलमा खुमलटार फुटबल क्लब र थ्री स्टार क्लबले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । जारी लिगमा दुवैका लागि यो दोस्रो जित हो ।
दिनको पहिलो खेलमा च्यासलस्थित च्यासल मैदानमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्यो । त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ थ्री स्टारले अपराजित सातदोबाटो युथ क्लबलाई १–० ले हरायो ।
खुमलटारको दोस्रो जित, शेर्पाको दोस्रो हार
मनिस थापा र स्टेफेन बिनोङको गोल पे्ररित नवप्रवेशी खुमलटारले लिगमा दोस्रो जित हासिल गर्यो । हिमालयन शेर्पाका लागि भने जारी लिगमा यो दोस्रो पराजय हो ।
च्यासल रंगशालामा खेलको २२ औं मिनेटमा मनिष थापाको गोलमार्फत खुमलटारले अग्रता लिएको थियो । लिगमा मनिषको यो पहिलो गोल हो । ६५ औं मिनेटमा स्टेफन विनोङले खुमलटारको अग्रता दोब्बर बनाए ।
७९ औं मिनेटमा कप्तान विश्वस श्रेष्ठले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै हिमालयनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा खुमलटारले २–१ को रोमाञ्चक जित निकाल्यो ।
दोस्रो हाफको इन्जुरी समयमा सत्यम शर्माको प्रहारलाई गोलकिपर देवले बचाउँदै खुमलटारको संकट टारे ।
यसअघि मनाङ मर्स्याङदी क्लबबसँग १–१ को बराबरी खेलेको हिमालयनले पुलिसलाई १–० ले हराउँदा चर्च ब्वाइज युनाइटेडसँग १–० को पराजय ब्यहोरेको थियो ।
यसैगरी फ्रेन्ड्स क्लबलाई हराएर सुखद सुरुआत गरेको खुमलटारले चर्च ब्वाइजसँग ३–१ तथा थ्री स्टारसँग २–० को पराजय ब्यहोरेको थियो ।
लिगको पाँचौं खेलमा खुमलटारले चैत २ गते बिहिबार च्यासल मैदानमा सातदोबाटोसँग खेल्नेछ भने शेर्पाले सोहि दिन सातदोबाटोस्थित एन्फा कम्पलेक्समा संकटाको सामना गर्नेछ ।
सातदोबाटोको पहिलो हार
सनोज श्रेष्ठको नेतृत्वमा रहेको सातदोबाटोले जारी लिगमा पहिलो हार बेहोरेको छ । सातदोबाटोको जित यात्रामा पूर्णविराम लगाउने क्रममा आदित्य शाक्यले थ्री स्टारका लागि निर्णायक गोल गरे ।
आदित्यले ८९ औं मिनेटमा अनिल महर्जनको कर्नर प्रहारलाई हाफ भलीमार्फत पोस्टको दिशा दिएका थिए ।
पहिलो पराजय ब्यहोरेको सातदोबाटोको चार खेलमा ९ अंक छ भने जितसँगै थ्री स्टारले समान खेलबाट सात अंक जोडेको छ ।
खेलमा थ्री स्टार, सातदोबाटोभन्दा बढी आक्रमक देखिएको थियो ।
१३ औं मिनेटमा थ्री स्टारका अशोक खावासको पासमा लकेन लिम्बुको हेडर बाहिरिएको थियो । २० औं मिनेटमा मार्टिन कायोडे अजाइको फितलो प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाए। त्यसको तीन मिनेटपछि अजाइकै प्रहार बाहिरिएको थियो । ४५ औं मिनेटमा कप्तान विक्रम लामाको हेडर अभिषेकले बचाउँदा सातदोबाटो गोल खानबाट जोगिएको थियो ।
दोस्रो हाफको ६५ औं मिनेटमा लकेनको गोललाई अफसाइड दिइएको थियो । ७० औं मिनेटमा आदित्यको प्रहार अभिषेकले बचाए । त्यसको दुई मिनेटपछि थ्री स्टारका दिपेश गुरुङको प्रहार बाहिरिएको थियो ।
खेलपछि थ्री स्टार प्रशिक्षक मेघराज केसीले खेलाडीमा तालमेल मिल्न थालेकाले टोलीले लय समात्दै गएको प्रतिक्रिया दिए ।
‘चौथो खेलमा आएर बल्ल हामीले एउटा टोलीको जस्तो प्रदर्शन गर्न सक्यौं । आज खेलाडीमा तालमेल मिलेको थियो’,केसीले भने‘,टोलीको प्रदर्शनप्रति सन्तुष्ट छु । सुरुआत देखि नै आक्रमण गरेको भए पनि खेलको अन्त्य तीर मात्रै गोल आयो । टोली अझै पनि निमार्णकै क्रममा छ, त्यसैले कस्तो प्रदर्शन गर्ला भन्ने थियो । टोली विस्तारै बलियो बन्दै लय समात्दै छ । यो जितले हाम्रो हौसला बढाएको छ । ’
यस्तै सातदोबाटोका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले टोलीलाई पर्याप्त आराम नमिलेको र पानी परेका कारण खेल्न गाह्रो भएको बताए ।
‘हामीले एक दिन मात्र आराम गर्न पायौं । त्यसमाथि पानी परेकाले थप गाह्रो भयो’,श्रेष्ठले भने,‘ विदेशी खेलाडीलाई प्रेसर हुन्छ भनेर दुई फरवार्ड खेलाएका थियौं । तर सफल भने भएन । राम्रोसँग म्यान मार्किङ नभएकाले गोल खान पुग्यौं त्यही नै खेलको टर्निङ प्वाइन्ट बन्यो । आज फिनिसिङमा पनि केही कमजोरी देखिएको थियो ।’
लिगको पाँचौं खेलमा सातदोबाटोले बिहिबार खुमलटारको सामना गर्नेछ भने थ्री स्टारले शुक्रबार चैत ३ गते एन्फा कम्पलेक्समा जावलाखेलको सामना गर्नेछ ।