सहिद स्मारक ‘ए’ डिभिजन लिग

खुमलटारको दोस्रो जित

काठमाडौं । हिमालयन शेर्पा क्लबलाई २-१ ले हराउँदै  नवप्रवेशी क्लब एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।

यस जितसँगै खुमटारले चार खेलमा ६ अंक जोड्दा पराजय ब्यहोरेको हिमालयन शेर्पाको समान खेलबाट चार अंक छ ।

च्यासल रंगशालामा खेलको २२ औं मिनेटमा मनिष थापाको गोलमार्फत खुमलटारले अग्रता लिएको थियो । लिगमा मनिषको यो पहिलो गोल हो । ६५ औं मिनेटमा स्टेफन विनोङले खुमलटारको अग्रता दोब्बर बनाए ।

७९ औं मिनेटमा कप्तान विश्वस श्रेष्ठले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै हिमालयनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा खुमलटारले २-१ को रोमाञ्चक जित निकाल्यो ।

दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न भने सकेनन् ।

पहिलो हाफको इन्जुरी समयमा एबियोमी फकुन्लेको प्रहारलाई खुमलटारका गोकिरपर देव लिम्बुले बचाउँदा हिमालयनले बराबरी गर्ने अवसर गुमायो ।

५७ औं मिनेटमा मेसोके ओलोमोउको प्रहारलाई हिमालयन शेर्पाका गोलकिपर विवश चौधरीले पञ्च गर्दै बचाउँदा खुमलटारले अग्रता दोब्बर बनाउन सकेन ।

दोस्रो हाफको इन्जुरी समयमा सत्यम शर्माको प्रहारलाई गोलकिपर देवले बचाउँदै खुमलटारको संकट टारे ।

यसअघि मनाङ मर्स्याङदी क्लबबसँग १-१ को बराबरी खेलेको हिमालयनले पुलिसलाई १-० ले हराउँदा चर्च ब्वाइज युनाइटेडसँग १-० को पराजय ब्यहोरेको थियो ।

यसैगरी फ्रेन्ड्स क्लबलाई हराएर सुखद सुरुआत गरेको खुमलटारले चर्च ब्वाइज युनाइटेडसँग ३-१ तथा थ्री स्टार क्लबसँग २-० को पराजय ब्यहोरेको थियो ।