केइफरको गोलमा वेल्सलाई महत्वपूर्ण एक अंक

बाकु, (खेलाडी)- केइफर मोरले उत्कृष्‍ट हेड गोल गरेपछि बाकुको ओलम्पिक रंगशालामा शनिबार साँझ सम्पन्‍न युरोपियन च्याम्पियनसिप (युरो २०२०) को खेलमा वेल्सले स्विट्जरल्यान्डसँग १-१ को बराबरी नतिजा निकालेको छ। 

प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा बराबरी नतिजा निकाल्ने क्रममा कार्डिफ सिटीका स्ट्राइकर मोरले निर्णायक गोल गरेर पहिलो रोजाईमा फर्काउने अन्तरिम प्रशिक्षक रब पागेको निर्णय सही साबित गरे । 

यसअघि ब्रेल इम्बोलोको गोलमा स्विट्जरल्यान्डले दोस्रो हाफको सुरुआतमै हकलाग्दो अग्रता लिएको थियो । खेलमा विपक्षीमाथि निक्कै हावी भएको स्विट्जरल्यान्डका लागि ४९औं मिनेटमा शेर्डान साकिरीको पासमा इम्बोलोले दर्शनीय हेड गोल गरेका थिए । गोल गर्नुभन्दा केही सेकेन्डअघिमात्र पनि इम्बोलोले उस्तै प्रयास गरेका थिए, जुन सफल भएको थिएन । 

तर ७४औं मिनेटमा जोए मोरेलको उत्कृष्‍ट क्रसलाई मोरले त्यस्तै हेडमार्फत वेल्सका लागि बराबरी गोल फर्काए । बराबरी गोल फर्काएपछि मैदानको हरेक भागमा वेल्सले प्रभाव जमाउन थालेको थियो । तर खेलमा वेल्सको त्यो पुनरागमन धेरैबेर टिकेन । 

तत्काल खेलमा फर्किने प्रयासस्वरुप समय सकिन पाँच मिनेट बाँकी रहँदा स्विट्जरल्यान्डका लागि बैकल्पिक खेलाडी मारियो गार्भानोभिचले मैदान पसेपछिको पहिलो टचमै गोल गरेका थिए । ८४औं मिनेटमा ह्‍यारिस सेफेरोभिचलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका उनले टिम सहयात्रीको थ्रु पासमा अगाडि बढेर सानदार फिनिसिङ गरेका थिए । तर उनको गोल भिएआरबाट अमान्य भएपछि स्विट्जरल्यान्ड विजयी सुरुआत गर्नबाट चुक्यो । 

शनिबारको यो नतिजापछि युरो २०२० को समूह ‘ए’मा इटाली तीन अंकका साथ शीर्ष स्थानमा रहँदा वेल्स र स्विट्जरल्यान्ड समान एक अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा छन् । अंकको खाता खोल्न नसकेको टर्की पुछारमा छ । प्रतियोगिताको उदघाटन खेलमा शुक्रबार इटालीले टर्कीमाथि ३-० को जित हासिल गरेको थियो । 

युरोपका विभिन्‍न ११ सहरमा एकसाथ चलिरहेको प्रतियोगिताअन्तर्गत अब समूह ‘ए’मा बुधबार स्विट्जरल्यान्डले रोममा इटालीसँग प्रतिस्पर्धा गर्नेछ भने बाकुमा वेल्स र टर्कीबीच खेल हुनेछ ।