इरिक्सन मैदानमा ढलेको खेलमा फिनल्यान्ड विजयी

कोपनहेगन, (खेलाडी)- क्रिस्टियन इरिक्सनको स्वास्थ्यले सबैको ध्यान तानेको युरोपियन च्याम्पियनसिप (युरो २०२०) को तनावपूर्ण खेलमा गए राति फिनल्यान्डले डेनमार्कमाथि १-० को जित हासिल गरेको छ ।

अन्तर्राष्‍ट्रिय फुटबलका प्रमूख प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउने क्रममा विजयी सुरुआत गर्न फिनल्यान्डका लागि ६०औं मिनेटमा जोइल पोजान्पालोले गरेको गोल पर्याप्त भयो । ७४औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्काउने राम्रो अवसर पाएको थियो । तर पिरे इमिल होजबर्गको पेनाल्टी प्रहार खेर जाँदा कोपनहेगनको पार्केन रंगशालामा घरेलु टोली निराश हुनुपर्‍यो । 

फिनल्यान्डले पहिलो पटक ठूलो प्रतियोगितामा सहभागिता जनाउने क्रममा समूह ‘बी’मा विजयी सुरुआत गरे पनि पूरा विश्‍वको ध्यान भने मैदानमा अचानक ढलेका क्रिस्टियन इरिक्सनले ताने । 

मध्यान्तर हुन केही बेरमात्र बाँकी रहँदा इन्टर मिलानका मिडफिल्डर अचानक मैदानमा ढलेका थिए । उनी ढल्दा उनको वरिपरी अरु कोही खेलाडी पनि थिएन । उनका टिम सहयात्री र रेफ्री एन्थोनी टेलरले तत्काल खेल रोकेर मेडिकल सहयोग मागे । 

२९ वर्षे मिडफिल्डरलाई स्ट्रेचारमा राखेर मैदानवाहिर निकालियो र तत्काल अस्पताल लगियो । इरिक्सनको अस्वस्थताका कारण लामो समय खेल रोकियो । १  सय मिनेटभन्दा बढि समय खेल रोकिएपछि दुवै टोलीको सहमतिमा पुन खेल गराइएको थियो । 

समूहको दोस्रो खेलमा डेनमार्कले फिफा विश्‍व वरियताक्रमको शीर्ष टोली बेल्जियमलाई बिहीबार कोपनहेगनमा निम्त्याउनेछ भने सेन्ट पिट्सबर्गमा रुस र फिनल्यान्डबीच खेल हुनेछ ।