पारा तेक्‍वान्‍दो खेलाडीलाई लोकतान्त्रिक खेलकुदको सहयोग

काठमाडौं, (खेलाडी)- फाइट अगेन्स कोभिड भन्‍ने नाराका साथ कोभिड १९ बाट असहज अवस्थामा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्रशिक्षक र खेलकर्मीलाई सहयोग गर्ने अभियान अन्तर्गत शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पारा तेक्‍वान्दोका खेलाडीहरुलाई सहयोग गरेको छ । 

पारा तेक्‍वान्दोका ६ जना राष्ट्रिय खेलाडीहरुलाई जनही ४ हजार रुपैयाँ सहित पौष्‍टिक आहारको प्याकेज र स्वास्थ सामाग्री प्रदान गरियो । त्रिपुरेश्‍वर स्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्‍वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा, र श्रृजना घिसिङलाई सहयोग हस्तान्तरण गरिएको थियो । 

उक्त सहयोग वितरण कार्यक्रममा वागमती प्रदेश अध्यक्ष दिपक गुरुङ, उपाध्यक्ष तथा मुवाथाई खेलाडी एवम् प्रशिक्षक उमेश गुरुङ, संघका सचिव एवम् काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री), संघका सदस्य तथा जावालखेल फुटबल क्लबका सदस्य राजु वोगटी लगायतको उपस्थिती रहेको थियो ।