सहिद स्मारक ‘ए’ डिभिजन लिग

थ्री स्टारको पहिलो जित

सातदोबाटो । नवप्रवेशी एफसी खुमलटारलाई २-० ले पराजित गर्दै थ्री स्टारले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा पहिलो जित हासिल गरेको छ ।

यस जितसँगै थ्री स्टारले तीन खेलबाट चार अंक जोड्दा भने लगातार दोस्रो पराजय ब्यहोरेको खुमलटारको समान खेलमा तीन अंक छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न तेस्रो चरणको पहिलो खेलमा ५४ औं मिनेटमा मिडफिल्डर लकेन लिम्बुको पासलाई सदुपयोग गर्दै मार्टिन कायोडे अजाइले थ्री स्टालाई अग्रता दिलाएका थिए ।

८३ औं मिनेटमा अजाइले ब्यक्तिगत दोस्रो गोल गर्दा थ्री स्टारले अग्रता दोब्बर बनायो । अजाइले  डिबक्स निजकैबाट गरेको  प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

खेलमा दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् । 

खेलको पहिलो मिनेटमै खुमलटारका राजिभ लोप्चनको प्रहार बाहिरिएको थियो । ३० औं मिनेटमा स्टेफन बिनोङ गोलको एकदमै नजिक थिए । तर उनको प्रहार पनि पोष्टको नजिकै बाट बाहिरिएको थियो ।

पहिलो खेलमा विभागिय टोली  नेपाल एपिएफ फुटबल क्लबसँग २-० ले पराजित भएको थ्री स्टारले दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग ३-३ को बराबरी खेलेको थियो ।

त्यस्तै लिगको उद्घाटन खेलमा फ्रेन्ड्सलाई १-० ले पराजित गरेको खुमलटार दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडसँग ३-१ ले पराजित भएको थियो ।