सहिद स्मारक ‘ए’ डिभिजन लिग

खुमलटार र थ्री स्टारबीचको पहिलो हाफ बराबरी

सातदोबाटो  । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ अन्तर्गत तेस्रो चरणको पहिलो खेलमा नवप्रवेशी एफसी खुमलटार र थ्री स्टारबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्पलेक्समा  जारी खेलमा दुवै क्लबले केही अवसरहरु सृजना गरेपनि गोल भने गर्न सकेनन् ।

खेलको पहिलो मिनेटमै खुमलटारका राजिभ लोप्चनको प्रहार बाहिरिएको थियो । ३० औं मिनेटमा स्टेफन बिनोङ गोलको एकदमै नजिक थिए । तर उनको प्रहार पनि पोष्टको नजिकै बाट बाहिरिएको थियो ।

खेलमा थ्री स्टारले पनि केही सेट पिस अवसरहरु पाएको थियो । तर ती अवसरहरुलाई थ्री स्टारले गोलमा परिणत गर्न सकेन । 

पहिलो हाफको इन्जुरी समयमा मार्टिन अजाइले गोलको सुन्दर अवसर गुमाएपछि खुमलटारले राहत महसुस गर्यो । त्यस्तै इन्जुरी समयमै आदित्य शाक्यको प्रहार खुमलटार गोलकिपर राजकुमार लिम्बुले बचाएका थिए ।

लिगमा खुमलटार दोस्रो तथा थ्री स्टार पहिलो जितको खोजीमा छन् ।