मछिन्द्र च्याम्पियन

काठमाडौं । सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुट आउटमा ५- ३ ले पराजित गर्दै  मछिन्द्र फुटबल क्लब  केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको च्यापियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलको निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा मछिन्द्र सफल भयो ।

पेनाल्टीमा मछिन्द्रका लागि रञ्जि घिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकुटी र  ओमोलाजा नोरेन करिमले गोल गरे । सातदोबाटोका लागि निरज चौधरी, दिपेनराज सिंह र एकराज बुढाथोकीले गोल गर्दा अब्दुल अबुबकारीको प्रहारलाई मछिन्द्रका गोलकिपरले बचाएका थिए ।

त्यसअघि खेलको पाँचौ मिनेटमा अफिज ओलाबाले ओली डिपोले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा जोर्डन ओवानाले सातदोबाटोलाई १-१ को बराबरीमा ल्याए ।

उपाधिसँगै मछिन्द्रले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता सातदोबाटोले पाँच लाख रुपैयाँ पाएको छ ।

सातदोबाटो विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ६-५ तथा मच्छिन्द्र आयोजक केपी ओली एफसीलाई १-० ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा मच्छिन्द्र र सातदोबाटोसहित त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिम (एनआरटी) गरि ‘ए’ डिभिजन लिगका सात र आयोजक केपी ओली एफसी गरि कुल आठ टोलीको सहभागिता थियो । केपी ओली एफसीले भने ‘ए’ डिभिजनकै क्लब थ्री स्टार क्लबका खेलाडीलाई मैदान उतारेको थियो ।