एन्फा कार्यसमिति बैठक

एन्फा कार्यसमिती बैठक अनिश्चित, दुई पक्षबीच हात हालाहाल

काठमाडौं । महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत १२ सदस्यले आफ्ना माग समावेश नभएसम्म बैठक सुरु हुन नसक्ने अडान कायम राख्दा  दुई पक्षबीच हात हालाहाल भएको छ । जसले अखिल नेपाल फुटबल संघ (एन्फा)को आज बस्ने भनिएको कार्यसमिती बैटक अनिश्चित बनेको छ ।

तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत १२ सदस्यको मागविपरित अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षको बर्खास्गतीसहितका विभिन्न पाँच एजेन्डा नथप्ने निर्णय गरेका थिए । त्यसले एन्फा विवादलाई थप चर्काएको छ ।

तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, भोजराज शाही, भरत बुढ थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामाले शुक्रबार एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेन्डा थपको माग गरेका थिए ।

उनीहरुले आफ्नो माग समावेश नगरिएसम्म बैठक संचालन हुन नसक्ने अडान राखेका छन । साथै उनीहरुले बैठक कक्षमा रहेका महासचिव राई र कोषाध्यक्ष जोशीलाई बाहिर निकाल्न समेत माग गरेका छन । अहिले सम्म उपस्थिती पुस्तिकामा हस्ताक्षर भएको छैन । दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा विवाद उत्पन्न भएको हो । उपाध्यक्ष दावा लामा र दीर्घबहादुर केसी तथा अर्को उपाध्यक्ष दिपक खतिवडा र सदस्य पुरुषोत्तम थापाबीच भनाभन र हात हालाहाल भएको हो । दुवै पक्ष झगपमा उत्रदा बैठक स्थलमा रहेका सिसा र टेबल फुटेका छन ।

एन्फा सचिवालयले १९ एजेन्डामाथि छलफल गर्ने भन्दा पनि कार्यसमितिभित्रै विवादित बन्दै आएको फिफा विश्वकप टिकटको ‘अवैधानिक विक्री’, खेलाडीका पुरस्कार लगायतका विषय समावेश थिएनन् ।

२१ सदस्यीय कार्यसमितिका तीन उपाध्यक्ष र ९ सदस्यसहित १२ जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तगी माग गरेका थिए । यसअघि पनि कार्यसमितिका बहुमत १४ सदस्यले जर्मन नागरिक नवीन पाँडेलाई विदेश विभाग प्रमूखबाट हटाउनुपर्ने भन्दै यस्तै पत्र बुझाएका थिए । तर पछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले पाँडेलाई आफ्नो व्यक्तिगत सल्लाहकारमा नियुक्त गर्दै त्यो संकट टारेका थिए ।

यसका साथै गत नोभेम्बर÷डिसेम्बरमा कतारमा भएको विश्वकपका लागि फिफाबाट प्राप्त दुई सय ९० मध्ये सयभन्दा बढि टिकट दुरुपयोग भएको भन्दै उठेको विषयमाथि पनि छलफल हुनुपर्ने उनीहरुको एजेन्डा थपको पत्रमा उल्लेख छ ।

यसैगरि एसियाली फुटबल महासंघ (एएफसी)का विभिन्न समितिका लागि नाम सिफारिस गर्ने सम्बन्धमा, उमेर समूह र सिनियर राष्ट्रिय (महिला तथा पुरुष) विजेता टिमका खेलाडीहरुलाई घोषित पुरस्कार वितरण गर्ने सम्बन्धमा तथा गएको असोज १२ गते विशेष साधारणसभाबाट नियुक्त भएका न्यायीका निकायको सदाचार परिक्षण सम्बन्धमा पनि कार्यसमिति बैठकमा छलफल हुनुपर्ने माग राखिएको थियो ।

दुई उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडासहित आठजनाले संयुक्त तथा अर्का उपाध्यक्ष दीर्घबहादुर केसी, सदस्यहरु भोजराज शाही, भरत बुढ थापा र राम जोशीले इमेलबाट व्यक्तिगत पत्र दर्ता गराएका थिए । संयुक्त पत्र दर्ता गराउने सदस्यहरुमा रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, रमेश ब्यन्जनकार, पेमा लामा र सरला श्रेष्ठ थिए ।

एन्फाले  बुधबार फागुन १७ गतेका लागि कार्यसमिती बैठक बोलाउँदा समावेश गरेका १९ एजेन्डाः

१.  अन्तर्राष्ट्रिय थ्रिनेसन कप आयोजना बारे
२.  महिला ओलम्पिक छनोट प्रतियोगिता बारे
३.  ‘ए’ डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सञ्चालन गर्न आगामी  चार वर्षको योजना बारे
४.  ‘बी’ र ‘सी’ डिभिजन लिग सञ्चालन बारे
५.  जिल्ला लिग सञ्चालन बारे
६.  यस वर्षको महिला लिग आयोजना बारे
७.  विद्यालय स्तरिय महिला र पुरुष दुई÷दुई वटा उमेर समुहको प्रतियोगिता आयोजना बारे
८.  पदपूर्ति समितीले सिफारिस गरिएको कर्मचारी नियुक्ती बारे
९.  महिला र फुटसलको  फ्रेन्चाईज प्रतियोगिता बारे
१०.  महिला एकेडेमी बारे
११.  प्रदेश संघको अधिवेशन बारे
१२.  फुटसल लिग आयोजना बारे
१३. फ्रेन्चाइज लिगको लागि नेपाल स्पोर्टस इभेन्ट्स म्यानेजमेन्ट( एनइएसएम) लाई प्रतियोगिताको समय उपलब्ध गराउने बारे
१४. राष्ट्रिय टोली र संघलाई आवश्यक खेलकुद सामग्रीहरु स्पोन्सरशिप र खरिद बारे
१५. विभिन्न देशमा संघको समन्वय समिति गठन गर्ने बारे
१६. स्थायी समिती तथा अन्य आवश्यक समिति गठन बारे
१७. आपतकालिन समिती गठन बारे
१८. सिइओ, सहायक महासचिवहरु लगयत कर्मचारी पदाधिकारी नियुक्ती बारे
१९. विविध