पिस प्वाइन्ट कप

पिस प्वाइन्ट कपः आयोजक पिस प्वाइन्ट च्याम्पियन

काठमाडौं । आयोजक पिस प्वाइन्ट पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सानो गौचरणमा  मंगलबार भएको फाइनलमा पिस प्वाइन्टले सिद्धार्थ बनस्थलीलाई ५-१ले पराजित गरेको हो । विजयी टोलीका लागि विशेष थिङ र राहुल लामाले  समान दुई  तथा सम्राट बस्नेतले एक गोल गरे । 

उपाधिसंगै पिस प्वाइन्टले ४० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता सिद्धार्थ बनस्थलीले २५ हजार रुपैयाँ पायो ।

छाहरीले नेपाल तारालाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउदै तेश्रो स्थान हासिल गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआटबाट लिइएको हो ।  छहारीले १० हजार रुपैयाँ  पुरस्कार प्राप्त गरेको छ ।

पिस प्वाइन्टका राहुल लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिता भर ९ गोल गरेका  नेपाल ताराका भुवन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । पिस प्वाइन्टका सविन सिलवाल उत्कृष्ट गोलरक्षक, नयेश राई उत्कृष्ट डिफेन्डर र सुरजजंग थापा उत्कृष्ट प्रशिक्षक चुनिए ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह, पिस प्वाइन्टकी प्रिन्सिपल इशु गुरुङलगायतले पुरस्कृत गरे । फागुन १० गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा १६ टोली सहभागी थिए ।