इङ्लिस प्रिमियर लिग

सिटीको सहज जित, लिभरपुल प्यालेससँग रोकियो

लन्डन । बर्नामाउथमाथि ४-१ को सहज जितसहित साबिकको विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानको आर्सनलसँगको दुरी दुई अंकमा कायम गरेको छ ।

शनिबार नै सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीमाथि १-० को जित निकालेको थियो ।

१५ औं मिनेटमा जुलियन अल्भारेजको गोलमा सिटीले अग्रता लिएको थियो । २९औं मिनेटमा इर्लिङ हाल्यान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए । ४५औं मिनेटमा फिल फोडिनले सिटीको अग्रता ३-० मा पुर्याएका थिए । 

५१औं मिनेटमा बर्नामाउथका मेपामको आत्मघाती गोलमा सिट सहज जितपतर्फ अघि बढेको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा जेफर्सनले गरेको गोल बर्नामाउथका लागि सान्त्वना साबित भयो ।

२४ खेलबाट ५७ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ भने एक खेल बढी खेलेको सिटी ५५ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २४ खेलमा ४९, चौथो स्थानको टोटनहमको २४ खेलमा ४२ र पाँचौ स्थानको न्युक्यासल युनाइटेडको २३ खेलमा ४१ अंक छ ।

यता लिभरपुल भने क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । सातौं स्थानको लिभपुलको २३ खेलमा ३६ अंक छ ।प्यालेसको भने २४ खेलमा २७ अंकसहित १२औं स्थानमा छ ।