स्पेनिस ला लिगा

रियालले अवसर गुमायो

मड्रिड । युवा स्ट्राइकर अल्भारो रोर्डिग्वेजले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेसँगै रियाल मड्रिडले शनिबार एट्लेटिको मड्रिडसँग हारको संकट टारेको छ ।\

मड्रिड डर्बीमा यी दुई टोलीले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । ६४औं मिनेटमा एन्जेल कोरिया रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि एट्लेटिकोले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

७८औं मिनेटमा जस जिमिनेजले गरेको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । खेल सकिन ५ मिनेट बाँकी रहँदा रोर्डिग्वेजले रियाललाई खेलमा फर्काएका थिए । उनी ७७औं मिनेटमा नाचो फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए । 

रियालले लिगमा एट्लेटिकोसँगको १४ भेटमा एक पटक मात्र नतिजा सुम्पिएको छ । बाँकी ६ खेल रियालले जितेको छ भने ७ खेल बराबरीमा सकिएको छ ।

यस बराबरीसँगै रियालले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी कम गर्ने अवसर गुमाएको छ । 

रियाल २३ खेलमा ५२ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा सात अंक कम हो । बार्सिलोनाले रियालभन्दा एक खेल कम खेलेको छ । बार्सिलोनाले आज राती हुने खेलमा अल्मेरियालाई हराएमा रियालमाथि १० अंकको अग्रता लिनेछ ।

यता २३ खेलमा ४२ अंक जोडेको एट्लेटिको चौथो स्थानमा छ भने समान खेलमा ४३ अंकसहित रियाल सोसिडाड तेस्रो स्थानमा छ ।

रियालले बिहीबार कोपा डेल रेको सेमिफाइनल पहिलो लेगमा बार्सिलोनालाई आतिथ्य गर्नेछ ।