इङ्लिस प्रिमियर लिग

गाक्पो स्ट्राइकर होइनन्ः भान डर भार्ट

लन्डन । कोडी गाक्पोलाई स्ट्राइकरको रुपमा प्रयोग गरेको भन्दै पूर्व डच अन्तर्राष्ट्रिय मिडफिल्डर राफेल भान डर भार्टले लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपको आलोचना गरेका छन् ।

गत डिसेम्बरमा डच फरवार्ड गाक्पो घरेलु क्लब पिएसभी इन्डोभनबाट ५० मिलियन युरोमा इङलिस प्रिमियर लिग क्लब लिभरपुलमा अनुबन्धित भएका थिए ।

विंगर गाक्पोलाई क्लोपले सेन्ट्रल फरवार्डका रुपमा प्रयोग गर्दै आएका छन् । गाक्पोलाई सेन्ट्रल फरवार्डका रुपमा खेलाएकोमा भार्टले क्लोपमाथि असन्तुष्टि पोखेका छन् ।

‘लिभरपुलले गाक्पोलाई अनुबन्ध गर्दा नै म अचम्मित भएको थिँए । कतारमा गाक्पोले गरेको स्तरीय प्रदर्शनले लिभरपुलको नजर उनीमाथि पर्नु स्वाभाविक कुरा हो । तर गाक्पो विंगर हो, स्ट्राइकर होइनन्, ’ भान डर भार्टले भने, ‘गाक्पोलाई खाली ठाउँ चाहिन्छ । त्यहाँ गाक्पोले आफ्नो स्तरीयता देखाउन सक्छन् । क्लोपले गाक्पोलाई किन स्ट्राइकरका रुपमा प्रयोग गरिरहेका छन् ? गाक्पो लेफ्ट विंगर हो ।’

गाक्पोले पिएसभीबाट १५९ पटक खेल्दा ५५ गोल गरेका थिए ।