जेष्ठ १, २०८२ बुधबार | २१:११:४१
लालीगुराँस र क्यान्भासको जित गोलकिपर नायक बन्दा गोदावरी उपाधि नजिक बराबरीमा रोकिए भगवती र मध्यपुर दीप सुवेदी र बीपी अनमोलको आलेखलाई ‘स्पेशल मेन्सन’ ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशित क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै लालीगुराँस र क्यान्भासको जित गोलकिपर नायक बन्दा गोदावरी उपाधि नजिक बराबरीमा रोकिए भगवती र मध्यपुर दीप सुवेदी र बीपी अनमोलको आलेखलाई ‘स्पेशल मेन्सन’ ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशित क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै
शनिबारको दिन नेपाली फुटबल

‘ए’ डिभिजन लिगः तयारी सुस्त, छैन क्लबको चमक

 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले तोककै समयमा भए आजको १३ दिनमा दशरथ रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन सुरु हुनेछ ।

राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने घरेलु फुटबलको सबभन्दा ठूलो प्रतियोगिता सुरु गर्नका लागि एन्फाले यसअघि पुस २६ को मिति तोकेको थियो । तर सहभागी क्लबसँगको सहमति आफैले पालना गर्न नसकेपछि एन्फाले फागुन १९ गतेबाट सुरु हुने भन्दै नयाँ मिति तोकेको छ ।

नेपाली क्लबहरुले खेल्ने सबभन्दा ठूलो प्रतियोगिता भएकाले पनि लिग सबै सहभागीको प्रतिष्ठाको विषय हो । लिगमा गरेको प्रदर्शन र जितेको उपाधिका आधारमा क्लबको हैसियत जाचिन्छ । साथमा पुछारमा रहने दुई क्लबले शीर्ष डिभिजनको हैसियत समेत गुमाउने भएकाले पनि लामो इतिहास बोकेका क्लबहरुका लागि यो महत्वपूर्ण छ । तर, मुखैमा आइसकेको लिगका लागि ‘ए’ डिभिजनका १४ क्लबले गरेको तयारी त्यसअनुरुप छैन ।

एन्फाले नियमित प्रतियोगिता नगर्दा तथा खेलेरै सम्मानजनक जीवनयापन गर्ने बाटोमा नेपाली फुटबललाई नडोर्याएको कारण राष्ट्रिय टोलीका वर्तमान तथा पूर्व गरि शीर्ष स्तरका चार दर्जनभन्दा बढि खेलाडी पछिल्लो केही महिनाको बीचमा मात्र बिदेसिइसकेका छन् । कतिपय अझै बिदेसिने प्रक्रियामा छन् । ठूलो संख्यामा स्तरीय नेपाली खेलाडी बिदेसिँदा सबै क्लबहरु प्रभावित भएका छन् । यही कारण एन्फाले विदेशी खेलाडीको कोटा चार बाट पाँच पुर्याएको छ ।

लिगका लागि बलियो टोली बनाउन यसपाली पनि क्लबहरु विदेशी खेलाडीमै निर्भर हुने पक्का छ । उनीहरुको आग्रहमा एन्फाले चार जना विदेशी खेलाडीको कोटा बढाएर पाँच पुर्याएको हो ।

यसै वर्ष मात्र शीर्ष डिभिजनमा बढुवा भएको चर्च ब्वाइज, संकटा क्लब र मच्छिन्द्र क्लब सन्तुलित टोली रहेकाले लिगमा राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छन् । तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र एपिएफ नियमित प्रशिक्षणमा भएकाले स्वभाविक खेल खेल्ने दाबी गर्छन । अन्य क्लबहरु सबैको लक्ष्य स्वभाविक प्रदर्शनका साथ टोली पुननिर्माण रहेको बताउँछन् ।

१४ क्लबको सहभागिता रहेका लिगमा सबै क्लबले सबै टोलीविरुद्ध समान दुई खेल खेल्नेछन् र लिगमा कुल एक सय ८२ खेल हुने लिगमा विजेताले यसअघिझै ७५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ३५ तथा तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक पुरस्कृत हुने बताइएको छ ।

नेपाली फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा चुनौती प्रस्तुत गर्न क्लबको तयारी छ त ? हामीले सबै क्लबका सम्बन्धित अधिकारीसँग यही प्रश्न गरेका थियौं । जसमा फरक क्लबको उद्देश्य फरक देखियो । सबैजसो क्लबहरु टिम निर्माणकै क्रममा रहेका कारण पनि तस्बिर प्रष्ट भइसकेको छैन ।

उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा मच्छिन्द्र

साबिक विजेता मच्छिन्द्र लिग उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । पछिल्लो दुई सिजन राष्ट्रिय टोलीका शीर्ष खेलाडीका लागि आकर्षक गन्तब्य बनेको मच्छिन्द्र यस पटक पनि सोही छबीलाई निरन्तरता दिने लक्ष्यमा छ ।

गत सिजन लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका सुनिल बलका साथै मनिष डाँगी र विशाल राईको साथ यसपाली मछिन्द्रसँग हुने छैन । सुनिल र मनिष संकटामा अनुबन्ध भएका छन् भने विशाल अस्ट्रेलिया प्रस्थान गरिसकेका छन् ।

‘हाम्रो टोलीका केही खेलाडी अन्यत्र गएका छन् भने केही खेलाडी विदेश गएका छन्,’ मच्छिन्द्रका अध्यक्ष सुनिल कपालीले भने, ‘तर पनि हामीसँग राम्रा खेलाडीको समूह छ । सन्तुलित टोली भएकाले उपाधिमा ह्याट्रिक गर्नेमा विश्वस्त छौं ।’

प्रशिक्षकमा प्रवेश कटुवाललाई निरन्तरता दिएको मछिन्द्रका अध्यक्ष कपाली यसअघि आर्मी र मनाङ प्रमुख प्रतिस्पर्धी रहँदै आएकोमा यसपाली भने खेलाडी अभावको समस्या सबै क्लबमा रहेकाले को मुख्य प्रतिस्पर्धी हुन्छ भन्नेमा ढुक्क भइसकेका छैनन् ।

‘खेलाडी बिदेसिँदा सबैलाई प्रभाव परेको छ । त्यसैले अहिले नै यो हाम्रो प्रमुख प्रतिस्पर्धी हो भन्ने स्थिती बनिसकेको छैन,’ उनले भने ।

आर्मीको लक्ष्य उपाधि

नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबको प्रशिक्षण १२ महिना निरन्तर हुन्छ । त्यसैले टोलीले लिगकै लागि भनेर पर्खी रहनु पर्ने स्थिती छैन ।

नियिमत प्रशिक्षण र अधिकांश पुरानै खेलाडी टोलीमा रहेकाले आर्मी यस पटक पनि उपाधिको मुख्य दाबेदारको रुपमा देखापरेको छ । पछिल्लो दुई सिजन आर्मी निकै उत्कृष्ट लयमा थियो । आर्मी लगातर दुई सिजनको उपविजेता टोली हो ।

‘लक्ष्य त यसअघिझै च्याम्पियन हुने नै हो । त्यहीअनुसार हामीले तयारी पनि गरिरहेका छौं,’ आर्मीका सहायक प्रशिक्षक चुनबहादुर थापाले भन्छन्, ‘विकास तामाङ घाइते छन् उनी लिगको अन्तिम तिर मात्र टोलीमा फर्कने सम्भावना छ । अन्य खेलाडी पूर्ण रुपमा फिट छन् ।’

विभागीय टोली भएकाले आर्मी यसपाली पनि विगतमा जस्तै नेपाली खेलाडीमै भर पर्नेछ । तथापि सन्तुलित टोली भएकाले सुखद नतिजाको आशामा रहेको सहायक प्रशिक्षक थापा बताउँछन् । तर विदेशी खेलाडीको कोटा बढाएकाले अन्य क्लब गत वर्षको तुलनामा बढि हावी हुनसक्नेतर्फ उनी सचेत छन् ।

शीर्ष तीनको लक्ष्यमा एनआरटी

 

न्युरोट टिम (एनआरटी) गत सिजन निक्कै सन्तुलित देखिएको थियो । दुई अफ्रिकी खेलाडी स्टेफन बिनोङ र मेसुके ओलुमोलुको दरिलो साथ पाउँदा एनआरटी तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्न सफल भएको थियो ।

यस पटक भने बिनोङ र मेसुकेले एनआरटीको साथ छोडिसकेका छन् । दुवै अफ्रिकी खेलाडी शीर्ष डिभिजनमा नवप्रवेशी टोली खुमलटार युथ क्लबसँग अनुबन्धित भइसकेका छन् । त्यसैले एनआरटीमाथि सोही प्रदर्शन दोहोर्याउने दबाब छ ।आफूसँग रहँदै आएका दुई प्रभावशाली खेलाडीले साथ छोड्दा तिनको विकल्पमा नेपाली स्टार खेलाडी अनुबन्ध गर्ने अवसर पनि एनआरटीसामू छैन । कतिपय नेपाली खेलाडी विभिन्न क्लबसँग जोडिइसकेका छन् भने धेरैले अस्ट्रेलियाको बाटो तताइसकेका छन् ।

‘राष्ट्रिय टोलीका खेलाडी बाहिरँदा अन्य क्लबलाई झै हामीलाई पनि असर परेको छ,’ क्लबका अध्यक्ष सुन्दर जोशीले भने, ‘हाम्रा लागि गत सिजन निकै उत्कृष्ट रह्यो । तर हामी यसपाली पनि बिनोङ र मेसुकेकै स्तरका विदेशी खेलाडी भित्राउन प्रयासरत छौं । तयारी राम्रो भइरहेको छ ।’

२०५२ सालमा पछिल्लो पटक शीर्ष डिभिजनको लिग जितेको टोलीको यसपालीको लक्ष्य च्याम्पियन बन्ने रहेको जोशी बताउँछन् । उपाधि जित्न नसके पनि शीर्ष तिनभित्र रहेर लिग टुंग्याउने उनको विश्वास छ ।

सुस्ताएको सातदोबाटो

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लिएकै वर्ष गत सिजन परम्परागत महारथीहरुमाथि हावी हुँदै चौथो स्थान हासिल गर्नु सातदोबाटोको ठूलो बहादुरी थियो । त्यही प्रदर्शनले टोलीलाई नेपाली फुटबलमा उदाउँदो शक्तिको रुपमा उभ्याएको थियो ।

तर एकै वर्षमा सातदोबाटोको त्यो जोश सुस्ताएझै देखिन्छ । खेलाडी अनुबन्धन र लिगको तयारीमा क्लबको गति निक्कै सुस्त छ । गत सिजन टोलीले चौथो स्थान हासिल गर्दाका सारथी प्रशिक्षक मेघराज केसी पूर्वक्लब थ्री स्टार फर्किसकेका छन् । कप्तान मानबहादुर तामाङले अस्ट्रेलियाको बाटो तताइसकेका छन् ।

क्लबका अध्यक्ष कपिल थापा मगर चर्चामा नआए पनि आफूहरु भित्रभित्रै टोली निर्माणको तयारीमा रहेको र प्रशिक्षण पनि सुरु गरिसकेको बताउँछन् ।

‘हाम्रा लागि गत सिजन निक्कै सुखद थियो । पहिलो सिजनमै हामी चौथो स्थान हासिल गर्न सफल भएका थियौं । यस पटक हामीलाई कम्तीमा त्यही प्रदर्शन दोहोर्याउँदै सोही स्थान हासिल गर्नुपर्ने दबाब छ,’ अध्यक्ष मगर भन्छन्, ‘त्यसका लागि हामी यस पटक विदेशी खेलाडीमा निर्भर छौं । केही खेलाडी अनुबन्ध भइसकेका छन् भने केही भित्राउन प्रयासरत छौं । टोलीको तयारी सन्तोषजनक छ ।’मनाङको आशा विदेशीमै

नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले पछिल्लो केही सिजन त्यो छबीमाथि न्याय गर्न सकेको छैन । २०७५ सालमा पछिल्लो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेयता टोली उपाधिविहिन छ ।

मनाङ कीर्तिमानी आठ पटकको लिग विजेता हो । सधै टोलीले नेपाली राष्ट्रिय टोलीका स्टार खेलाडीहरुका साथै उत्कृष्ट विदेशीको भिड जम्मा गरेर त्यस्तो सफलता हासिल गर्ने गरेको थियो ।

यसपटक भने टोलीमा नाम चलेका खेलाडी कमै मात्र छन् । कप्तान अञ्जन बिष्टले नयाँ सिजनका लागि नवप्रवेशी चर्च ब्वाइज रोजिसकेका छन् । मनाङ स्तरीय विदेशी खेलाडी भित्र्याएरै भए पनि लिगमा आफ्नो दाबेदार छवी कायम राख्न चाहन्छ ।

अघिल्लो सिजनबाट पोखरा रंगशालालाई घरेलु मैदान बनाएको मनाङले यसपाली टोलीमा पनि गण्डकी प्रदेशका खेलाडीको बाहुल्य हुने प्रष्ट पारिसकेको छ । गण्डकी प्रदेशकै खेलाडीलाई महत्व दिने र नतिजाका लागि विदेशी खेलाडीमा जोड गर्ने मनाङको रणनीति देखिन्छ ।

क्लबका अध्यक्ष विजय घले भन्छन्, ‘हामीसँग टोलीमा यसपाली नेपालका नाम चलेका खेलाडी छैनन् । अहिले सबै क्लबलाई घरेलु खेलाडीको अभाव छ । हामी पनि त्यसबाट अछुतो छैनौं । नेपालका स्टार खेलाडी नहुँदा टिमको स्तरमा पर्ने अशर पुर्तिका लागि हामी घाना, नाइजेरिया र सेनेगलका खेलाडी भित्र्याउने प्रयासमा छौं ।’

राष्ट्रिय खेलाडीको साथ नपाए पनि मनाङले उपाधि नै जित्ने लक्ष्य बनाएको उनी बताउँछन् । त्यसका लागि टोलीले पोखरेली प्रशिक्षक किरण श्रेष्ठलाई टिमको नेतृत्व सुम्पिएको छ । छवि सुधार्ने उद्देश्यमा थ्री स्टार

कुनै समय नेपाली राष्ट्रिय टोलीका खेलाडीका लागि आकर्षणको केन्द्र बन्ने गरेको थ्री स्टारको त्यो छवि गुमेको केही वर्ष भइसक्यो । खेलाडी सरुवा बजारमा निकै सुस्त देखिएको थ्री स्टार यसपाली मोफसलका प्रतियोगिताहरुमा पनि उपस्थित भएन । नेपालको सबभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता आहारारामा थ्री स्टारको सहभागिता थिएन । सँगै टोली बाग्मती गोल्डकपमा उपाधि रक्षा गर्न पनि गएन ।

टिम निर्माणमा कुनै जोश नदेखाएको थ्री स्टारका लागि आसन्न लिगमा सबभन्दा मुख्य हतियार भनेको टोलीमा पुनरागमन जनाएका प्रशिक्षक मेघराज केसीमात्र हुन् ।

खेलाडी अनुबन्धनमा खासै चासो नराखेका कारण टोली यसपाली पनि अघिल्लो वर्षझै हैसियत जोगाउने प्रतिस्पर्धामै केन्द्रित हुने अनुमान गर्न सकिन्छ ।

मुख्य प्रशिक्षकमा मेघराज केसी र गोलकिपर प्रशिक्षकमा उज्वल महर्जनलाई फिर्ता बोलाएको थ्री स्टार टोली पुननिर्माणमा जुटेको बताइन्छ ।

‘हामीले लिगका लागि दुई साता देखि तयारी सुरु गरेका छौं,’ प्रशिक्षक केसीले भने, ‘हाम्रो लक्ष्य टोलीलाई स्वभाविक लयमा फर्काउने हो । टोली पुननिर्र्माणको लक्ष्यमा रहेकाले ठूलो अपेक्षा केही राखेका छैनौं । ’

महत्वाकांक्षी संकटा

गत सिजन सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको संकटा क्लब यसपाली सरुवा बजारमा निकै आक्रामक तरिकाले प्रस्तुत भयो । संकटाले आसन्न लिगका लागि सुनिल बल, मनिष डाँगी, आयुष घलान, सुरज ज्यु ठकुरी, निरान खड्का र टिकेन्द्र थापालाई भित्र्याइसकेको छ । पोखरामा सम्पन्न आहारारा गोल्डकप जितेको संकटा बागमती गोल्डकपको उपविजेता हो ।

मोफसलमा गरेको प्रदर्शनले संकटाको तयारी राम्रो भएको र टोली बलियो बनेको प्रमाण दिन्छ । एन्फाका पूर्वमहासचिव तथा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर टोलीको लक्ष्य शीर्ष चारमा अटाउने रहेको बताउँछन् ।

‘हामीले लिगका लागि यस पटक राम्रो तयारी गरेका छौं । मोफसलका प्रतियोगितमा हामीले गरेको प्रदर्शनले पनि टोलीको तयारी झल्काउछ,’ तुलाधरले भने, ‘हाम्रो लक्ष्य च्याम्पियन बन्ने नै हो । त्यो सम्भव नभए हामी शीर्ष चारको टार्गेटमा छौं ।’

अन्य क्लबजस्तै खेलाडी बिदेसिँदा आफूहरु पनि मारमा परेको तुलाधर बताउँछन् । संकटाले यसै सिजनका लागि भनेर मछिन्द्रबाट भित्र्याएका रक्षक गौतम श्रेष्ठ पनि केही साताअघि अस्ट्रेलिया लागेका थिए । तर सुनिलको कप्तानीमा टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी रहेको बताउँदै केही विदेशी खेलाडी अनुबन्ध गर्ने प्रयास भइरहेको तुलाधरले जानकारी गराए ।

एपिएफलाई विदेशीकै भर

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका लागि गत सिजन निक्कै सकसपूर्ण रह्यो । लगातारको खराब प्रदर्शनपछि रेलिगेसनको सम्मुख पुगेको एपिएफ विदेशी खेलाडी भित्र्याएपछि मात्र शीर्ष डिभिजनको हैसियत जोगाउन सफल भएको थियो ।

नेपाली फुटबलमा विदेशी खेलाडी भित्र्याउने एपिएफ पहिलो विभागीय टोली हो । एपिएफले गत सिजन रेलिगेसन टार्नका लागि जापानी गोलकिपर तथा एक अफ्रिकी खेलाडी गरि दुई विदेशी खेलाडी भित्र्याएको थियो ।

विगतका वर्षहरुमा राम्रो प्रदर्शनका लागि संघर्ष गर्दाका मुख्य प्रशिक्षक कुमार थापा यस पटक टोलीमा छैनन् । उनको बर्हिगमनपछि सुदिप सिख्राकारले टोलीको प्रशिक्षण सम्हाल्ने छन् ।

एपिएफका व्यवस्थापक विजयकुमार केसी टोलीको प्रशिक्षण नियमित भइरहेकाले सुखद नतिजा ल्याउनेमा आशावादी रहेको बताउछन् । तर अन्य सामुदायिक क्लबको जस्तै एपिएफका पनि केही खेलाडी बिदेसिएकाले त्यसको प्रभाव भने पर्ने उनको अनुमान छ । एपिएफका राष्ट्रिय खेलाडी आशिष लामा, गौरव गुरुङलगायतका खेलाडी पछिल्लो दुई महिनाको बीचमा बिदेसिइसकेका छन् ।

‘हाम्रा पनि केही खेलाडी विदेसिएका छन् । तर हामीले उनीहरुको स्थानमा अन्य खेलाडी अनुबन्ध गरिसकेका छौं’, केसीले भने, ‘पक्कै पनि नाम नचलेका खेलाडी नहुँदा लिगको रौनकमा केही कमी पक्कै ल्याउछ, तर यो नयाँ खेलाडीका लागि आफ्नो क्षमता प्रमाणित गर्ने सुनौलो अवसर हो ।’

केसी ठूलो संख्यामा एकैपटक खेलाडी बिदेसिँदा नेपाली फुटबल नयाँ पुश्तामा जाने विश्वास राख्छन् । भन्छन्, ‘स्थापित खेलाडी नहुँदा धेरै नयाँले एक्कैपटक मौका पाउँछन् । एकहिसावमा यो पुस्तान्तरणको काम हुनेछ ।’

एपिएफले अघिल्लो सिजन जस्तै यसपाली पनि आवश्यकताअनुसार विदेशी खेलाडी अनुबन्ध गर्ने योजना बनाएको छ । टोलीले शीर्ष तीनमा रहेर लिग टुंग्याउने लक्ष्य बनाएको बताए पनि तयारी त्यसअनुरुप देखिन्न ।

रेलिगेसन टार्ने लक्ष्यमा जावलाखेल

गत सिजनको लिगमा सुरुआत जावलाखेलका लागि सुखद बन्न सकेको थिएन । पछिल्ला चरणमा मात्र जावलाखेलले जितको लय भेट्टाएको थियो । पछिल्ला केही खेलमा जित हासिल गरेपछि मात्र टोली मुस्किलले रेलिगेसनको खतरा टार्न सफल भएको थियो ।

पछिल्ला वर्षहरुमा निरन्तर रेलिगेसनबाट जोगिन नै संघर्ष गर्दै आएको जवालाखेल युथ क्लबले यसपाली पनि ठूलो अपेक्षा केही राखेको छैन । ‘स्वभाविक खेल खेल्दै सिजनको सुखद अन्त्य गर्ने’ जावलाखेलले बनाएको एक मात्र लक्ष्य हो । अनि, जावलाखेलको स्वभाविक खेल र सुखद अन्त्य भन्नाले रेलिगेसनबाट जोगिने हो ।

लिगको अन्यौलले टोली निर्माण देखि तयारी पनि हतारमा गर्नु परेको एन्फाका केन्द्रिय सदस्य एवम जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री गुनासो गर्छन ।

‘लिगको टुंगो नै भएन । अन्योलका कारण हामी अहिले आएर टोली निर्माणमा जुटेका छौं । केही खेलाडी अनुबन्ध गरिसक्यौं, केही भित्र्याउने तायरीमा छौं । खेलाडी बिदेसिँदाको समस्या हामीले पनि भोग्नु परेको छ’ क्षेत्री भन्छन्, ‘विदेशी खेलाडीमा निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था आयो । यसअघि झै विदेशी खेलाडीको प्रदर्शन हावी हुनेछ ।’

स्थानीय प्रशिक्षक सुनिल श्रेष्ठलाई टिमको नेतृत्व जिम्मेवारी दिएपछि टोलीले उनीबाट सुखद प्रदर्शन अपेक्षा गरेको छ । श्रेष्ठको सल्लाहबमोजिम स्तरीय विदेशी खेलाडी भित्र्याएर यसपाली राम्रो प्रदर्शन गर्ने योजना क्लबको छ । कम्तिमा यसपाली अन्तिमसम्म रेलिगेसनको दबाब बेहोर्नुनपरोस भन्ने उद्देश्यमा टिम बनाउने क्षेत्री बताउँछन् ।

दबाबमा हिमालय शेर्पा

हिमालय शेर्पा एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हो । त्यसैले यो क्लबलाई लिगमा कमजोर प्रदर्शन गर्ने छुट छैन । यही कारण टोलीले शीर्ष चारको लक्ष्य राखेर यस पटक राम्रो तयारी गरिरहेको छ ।

जसका लागि टोलीले मोफसलका विभिन्न प्रतियोगितामा निरन्तर सहभागिता जनाइरहेको छ । क्लबमा केही नयाँ खेलाडी भित्रिए पनि विदेशी खेलाडीको हकमा भने टोली पुरानैलाई निरन्तरता दिने सोचमा छ ।

‘हामीले पछिल्लो केही महिनादेखी नै लिगमा केन्द्रित हुँदै तयारी थालेका थियौं,’ क्लबका व्यवस्थापक विजेन पुडासैनीले भन्छन्, ‘हामीले अघिल्लो वर्षकै टोलीमा केही खेलाडी थप गरेका छौं । त्यसैले टोलीले स्वभाविक प्रदर्शन गर्दै शीर्ष चारको लक्ष्य लिएको छ ।’नयाँलाई मौका दिँदै पुलिस

विभागीय क्लबमध्ये गत सिजन सबैभन्दा कमजोर प्रदर्शन गरेको नेपाल पुलिस क्लब पनि यस पटक टोली पुननिर्माणको लक्ष्यमा जुटेको छ ।

‘तयारी ठिकै चलिरहेको छ,’ पुलिस क्लबका खेलकुद विभाग प्रमुख डिएसपी रुकेश तुलाधरले भने, ‘हामीले हालै सम्पन्न आइजिपी कपबाट केही खेलाडी छनोट गरेका छौं । उनीहरुको आगमनले टोली बलियो हुने आशा छ ।’

तुलाधर यस पटक पनि आफूहरु विदेशी खेलाडी भित्र्याउने पक्षमा नरहेको बताउँछन् ।

‘हामी नेपाली खेलाडी मै निर्भर हुन्छौं । यो नेपाली लिग हो । यहाँ गरेको प्रदर्शनकै आधारमा राष्ट्रिय टोली निर्माण गर्ने हो । तर सधै विदेशी खेलाडीमा मात्र निर्भर भएर कहिलेसम्म लिग चलाउने ?,’ उनी भन्छन्, ‘यो नयाँ खेलाडीका लागि आफ्नो क्षमता प्रमाणित गर्ने अवसर हो । हामी नयाँ खेलाडी आएको हेर्न चाहन्छौं र उनीहरुलाई प्रमोट गर्दै लैजाने पक्षमा छौं ।’

पुननिर्माणको अभियानमा फ्रेन्डस

मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ भित्रिएसँगै फ्रेन्डस क्लबले पनि टोली पुननिर्माणको काम सुरु गरेको छ । गत सिजन मृगेन्द्र मिश्रको प्रशिक्षणमा मैदान उत्रिएको फ्रेन्डसले पछिल्ला केही खेलमा निकालेको जादुमयी नजितापछि मात्र ‘ए’ डिभिजनको हैसियत जोगाउन सफल भएको थियो ।

‘मैले हालै मात्र टोलीको प्रशिक्षण सम्हालेको छु,’ राष्ट्रिय यु १७ टोलीको समेत प्रशिक्षण जिम्मेवारी लिइसकेका श्रेष्ठले भने, ‘केही खेलाडी भित्र्याएका छौं । हामीले तयारी सुरु गरिसकेका छौं । टोली पुननिर्माणको लक्ष्य लिएका छौं ।’

श्रेष्ठले फ्रेन्ड्सको तयारी हल्लीखल्लीपूर्ण नभए पनि प्रभावकारी भने रहेको बताए । उनले नयाँ र युवा खेलाडीको जोश र क्षमतावान विदेशी खेलाडीको संयोजनमा सुखद नतिजा ल्याउने आशा राखेका छन् । तथापि विदेशी खेलाडी अनुबन्धनको प्रक्रिया भने चलिरहेको उनले बताए ।

उपाधिको बलियो दाबेदार चर्च ब्वाइज

चर्च ब्वाइज यसै सिजन मात्र ‘ए’ डिभिजन लिगमा उक्लिएको टोली हो । तर खेलाडी अनुबन्धमा निक्कै आक्रमक देखिएकाले चर्च ब्वाइजले प्रभावशाली प्रदर्शनसहित उपाधिको लक्ष्य राखेको प्रष्ट देखिन्छ । चर्च ब्वाइज ‘बी’ डिभिजनको विजेताको रुपमा ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।

राष्ट्रिय टोलीका स्टार स्ट्राइकर अञ्जन विष्ट र रक्षक अनन्त तामाङसहित यु-१७ टोलीका कप्तान प्रशान्त लक्ष्यमको उपस्थितीमा चर्च ब्वाइजले च्याम्पियनको लक्ष्य राखेको हो ।

‘हामीले खेलाडी अनुबन्धनमा केही कसर बाँकी राखेका छैनौं,’ क्लबका अध्यक्ष टंकलाल राईले भने, ‘हामी निरन्तर तयारीमा छौं । त्यसैले सुखद नतिजाको आशामा छौं । हामी नवप्रवेशी भए पनि बलियो दाबेदारको रुपमा प्रस्तुत हुने लक्ष्यमा छौं ।’

प्रभाव छोड्न आतुर खुमलटार

खुमलटार युथ क्लब गत सिजन ‘बी’ डिभिजनको उपविजेताको रुपमा ‘ए’ डिभिजनमा बढुवा भएको थियो । खुमलटार पनि पहिलो सिजनमै विशेष प्रभाव छोड्ने लक्ष्यमा रहेको छ ।

‘पहिलो सिजन भए पनि हामी विशेष प्रभाव छोड्न चाहन्छौं,’ क्लब अध्यक्ष मणीराज बिष्टले भने, ‘हामीले राम्रो तयारी गरेका छौं । खेलाडीको सेवासुविधामा केही कसर बाँकी राखेका छैनौं । गत सिजन सातदोबाटो युथ क्लबले गरेको प्रभावशाली प्रदर्शनले पनि हामीमाथि राम्रो प्रदर्शन गर्ने पर्ने दबाब छ ।’अघिल्लो सिजन एनआरटीबाट उत्कृष्ट प्रदर्शन गरेका अफ्रिकी खेलाडी स्टेफन बिनोङ र मेसुकेलाई भित्र्याएका कारण टोलीको मनोबल उच्च रहेको बिष्टको बुझाई छ ।