आइसिसी विश्वकप क्रिकेट लिग टु

नेपालको लगातार दोस्रो जित

काठमाडौं । कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु मा अन्तर्गत त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हरायो । 

स्कटल्यान्डले प्रस्तुत गरेको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट क्षतीमा पूरा गरेको थियो ।

शीर्ष क्रमका ब्याटर सस्तोमा पबेलियन फर्किएपछि नेपाल दबाबमा परेको हो ।

७७–५ को स्थितीमा ब्याटिङका लागि आएका दिपेन्द्रसँग कुशलले छैटौं विकेटका लागि एक सय रनको साझेदारी गरेका थिए । कुशलले ६७ बलमा ९ चौका र ४ छक्कामद्दतमा ८१ रन जोडे । दिपेन्द्रले १ सय १६  बलमा ८ चौका र १ छक्कामद्दतमा अविजित ८५ रन जोडे ।

स्कटल्यान्डका क्रिस सोल र मार्क वाट्ले समान ३ विकेट लिए ।

नेपाल २६ खेलमा २२ अंकसहित छैटौं स्थानमा छ । स्कटल्यान्ड ३४ खेलमा ४८ अंकसहित शीष स्थानमा छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ । तेस्रो स्थानको नामिबियाको ३२ खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौं स्थानको पगुवा न्युगिनीको २८ खेलमा ५ अंक छ ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको स्कटल्यान्डले निर्धारित ५० ओरभमा ९ विकेट गुमाउदै २ सय ७४ रनको योगफल खडा गरेको हो ।

स्कटल्यान्डका लागि मिकेल लिइस्कले शतक पूरा गरे भने ज्याक गार्भिसले २६ रन बनाए । मिकेलले ८५ बलमा ३ चौका र ९ छक्का मद्दतमा अविजित १ सय ७ रन जोडे ।
त्यस्तै क्रिस्टोफर म्याकब्राइडले २२ तथा कप्तान रिची ब्रिङटन र थोमस म्याकिन्टोसले समान १९ रन जोडे ।

नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा २७ रन खर्चदै ३, कुशल मल्लले २, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए । 

नेपालले पहिलो खेलमा मंगलबार नामिबियालाई २ विकेटले हराएको थियो । स्कटल्यान्डले भने नामिबियालाई १० विकेटले हराएको थियो ।

नेपालले शनिबार तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ ।