च्याम्पियन्स लिग

एमबाप्पे, मेसी र नेयमारलाई सँगै खेलाउनु हारको मुख्य कारणः लोरेन्स

पेरिस । फ्रेन्च फुटबलका पत्रकार जुलियन लोरेन्सले लिग वान क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)ले लियोनल मेसी, किलियन एमबाप्पे र नेयमारलाई एकैचोटी खेलाउन नहुने बताएका छन् ।

पिएसजी मंगलबार राति सम्पन्न युरोपेली फुटबल महासंघ(युइएफए) च्याम्पियन्स लिग अन्र्तगत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बार्यन म्युनिखसँग १–० ले पराजित भएको थियो ।

मेसी, नेयमार र एमबाप्पेजस्ता विश्वस्तरीय खेलाडीहरु एउटै लाइनअपमा हुनका बाबजुद पिएसजीले पराजय बेहारेपछि पत्रकार लोरेन्सले यस्तो अभिव्यक्ति दिएका हुन् ।

पार्क डि प्रिन्सेस, पेरिसमा भएको खेलमा बार्यनका लागि एक मात्र गोल पिएसजीका पूर्व खेलाडी किंग्सले कोम्यानले गरेका थिए ।

घरेलु भुमिको फाइदा उठाउन नसकेपछि पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिने सम्भावना बढेको छ । दोस्रो लेग अर्काे महिना बार्यनको घरेलु मैदान आलियान्स एरिनामा हुनेछ ।

पिएसजीले पछिल्लो तीन फरक प्रतियोगितामा लगातार हार बेहोरेको छ । मेसी, नेइमार र एम्बाप्पेलाई एउटै लाइनअपमा खेलाउनु हारको मुख्य कारण रहेको लोरेन्सले बताएका छन् । त्यस्तै लोरेन्सले यी तीन खेलाडीलाई पिएसजीले बार्यनविरुद्ध पुनः एकैसाथ खेलाए  निश्चित हार बेहोर्ने दाबी गरेका छन् । ग्याल्टियरले उनीहरु तीन मध्य दुईलाई रोज्नु पर्नै लोरेन्सले बताए ।

बार्यनविरुद्ध अर्जेन्टाइन र फ्रान्सेली खेलाडी उपलब्ध हुने नहुने कुराको चिन्ता थियो । यद्यपी, उनीहरु प्रशिक्षणमा सामेल भएका थिए ।