इङ्लिस प्रिमियर लिग

स्वभाविक खेलमा मात्र केन्द्रित छुः गाक्पो

लन्डन । इङलिस प्रिमियर लिगका स्ट्राइकर कोडी गाक्पोले आफ्नो एन्फिल्ड जाने निर्णयको आलोचना भए पनि आफूले त्यसमा ध्यान नदिएको बताएका छन ।

गत साता नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले गाक्पोको लिभरपुल जाने निर्णय गलत साबित भएको दाबी गरेका थिए । 

जारी सिजन लिभरपुल निकै खराब लयबाट गुज्रिरहेको छ । २१ खेलमा ३२ अंक मात्र जोडेको लिभरपुल नवौं स्थानमा छ । 

२३ वर्षीय गाक्पोले कतारमा सम्पन्न विश्वकपमा नेदरल्याण्डका लागि समूह चरणका तीन वटै खेलमा गोल गरेका थिए । गाक्पो पिएसभीबाट लिभरपुल भित्रिएका हुन् । एन्फिल्ड भित्रिएपछि उनले सातौं खेलमा आएर मात्र गाेल खाता खोलेका थिए । एभर्टनमाथि २–० को जित निकाल्दा उनले एक गोल गरेका थिए ।

म आफ्नो स्वभाविक खेलमा केन्द्रित छु, कसैको आलोचनामा म ध्यान दिन्न,गाक्पोले भने, आशा छ प्रशिक्षक योर्गान क्लोपको प्रशिक्षणमा मैले स्वभाविक लय भेट्टाउने छु । 
लिभरपुलले शनिबार प्रिमियर लिगमा न्युक्यासल युनाइटेडको सामना गर्नेछ ।