संयुक्त नमुना दोस्रो चरणमा 

काठमाडौं, (खेलाडी)– ढोलाहिटी युथ क्लबलाई बुधबार २–० को नतिजामा पराजित गर्दै संयुक्त नमुना युथ क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको दोस्रो चरणमा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा नमुना युथका दिपेश राई र प्रदीप बुढाथोकीले गोल गरे । १०औं मिनेटमा दिपेशले गरेको गोलबाट नमुनाले अग्रता लिएको थियो । नमुनाबाट प्रदीपले ८०औं मिनेटमा दोस्रो गोल गरे । 

छनोटका दुई खेलमा सतप्रतिसत नतिजा निकाल्दै समूह ‘क्यु’बाट संयुक्त नमुना छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो । छनोटको पहिलो खेलमा संयुक्त नमुनाले चक्रदेवी सामुदायिक समाजलाई १–० ले पराजित गरेको थियो । 

त्यस्तै दुई खेलबाट तीन अंक जोडेको ढोलाहिटी र समान खेलबाट अंकविहिन रहेको चक्रदेवी भने छनोटको पहिलो चरणबाटै बाहिरिएका छन् ।