लिग छनोटको लक्ष्यमा ढोरपाटन

काठमाडौं, (खेलाडी)-  नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा आइतबारबाट राष्ट्रिय पुरुष तथा महिला एनभिए क्लब भलिबल च्याम्पियनसिपको छैटौं संस्करण सुरु हुँदैछ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ गरि कुल २० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी टोली अन्तिम तयारीमा जुटिरहेका छन् । प्रत्येक टोलीले कम्तीमा तीन विदेशी खेलाडी खेलाउन पाउने प्रावधान अनुसार विदेशी खेलाडीहरु नेपाल आउने क्रम पनि सुरु भैसकेको छ ।

प्रतियोगितामा सहभागी टोली मध्येको एक हो, ढोरपाटन स्पोटर्स क्लब । ढोरपाटन स्पोटर्स क्लबले महिला र पुरुष दुवै विधामा प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताका लागि आफूहरु करिब दुई साता देखि निरन्तर अभ्यासमा रहेको र सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको एनभिएका सचिव समेत रहेका ढोरपाटन स्पोटर्स क्लबका अध्यक्ष मनवीर छन्त्याल बताउँछन् ।

‘तयारी सन्तोषजनक ढंगमा अघि बढिरहेको छ,' छन्त्यालले भने, ‘महिला र पुरुष दुवै टोलीको प्रशिक्षण सुरु गरेको १५ दिन भयो । हाम्रो टिममा ठूलो कदका खेलाडी नभएको हुनाले त्यति राम्रो तयारी गर्न पाएका छैनौं । तर पनि सुखद नतिजा ल्याउनेमा आशावादी छौं ।'

तीन विदेशी खेलाडी राख्न पाइने प्रावधान रहेको प्रतियोगितामा ढोरपाटन स्पोटर्स क्लबले महिलातर्फ तीन भारतीय खेलाडीलाई बोलाएको उनले बताए । तीन भारतीय खेलाडीमा कुंजना सिंह, श्वेता र प्रियंका कुमारी छन् ।

‘दुवै टिममा खेलाडीहरु परिवर्तन भएका छन् । महिलातर्फ भारतका तीन खेलाडी बोलएका छौं । उनीहरु प्रदेश स्तरका खेलाडी हुन्,’ उनले थपे, ‘उनीहरुको खेल देखेको त छैन । तर अरुले भने अनुसार अहिलेका उदीयमान खेलाडी भनेर नै ल्याउन लागिएको हो ।’

उनीहरु प्रतियोगिता खेल्न ९ गते नेपाल आइपुग्ने छन् । 

छन्त्यालले केही वर्ष अघिसम्म क्लब भलिबलमा आफूहरुको दरिलो उपस्थिती हुने गरे पनि अहिले भने प्रशिक्षण निरन्तर नहुँदा बलियो टोली निर्माणमा असर परेको स्वीकार गरे ।

‘यहाँ उत्पादन भएका खेलाडीहरु कोही विदेश छन्, कोही विभागमा छन् । त्यसैले हाम्रो टिम कमजोर भएको हो । तर अहिले पहिलेको तुलनामा केही सुधार भएको छ,’ छन्त्याल थप्छन्, ‘कुनै समयमा ढोरपाटनको टिम पनि राम्रो थियो । तर जागिरको सिलसिलामा खेलाडीहरु छुटे । टिम राम्रो बनाउन ठूलो कद भएका खेलाडीलाई खोजेर खाने, बस्ने र पढ्ने सुविधा दिएर प्रशिक्षण गराइरहेका छौं । जतिसम्म सक्छौं गर्नेछौं ।’

यस्तै उनले एनभिए च्याम्पियनसिपमा क्लबको उद्देश्य एनभिए  लिगको टिकट पक्का गर्ने रहेको बताए ।

‘हामी सिभिल टिमसँग प्रतिस्पर्धा गर्न सक्छौं । विभागको टिम त नेपाल भरीका राम्रा खेलाडी एकिकृत भएर बनेका छन् । एनभिए लिगको लागि पुरुषतर्फ सात र महिलातर्फ पाँच टोली छनोट हुने भन्ने कुरा छ, यसको लागि हाम्रो दुवै टिम छनोट हुने लक्ष्य छ,’ उनले भने ।